नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भने, पछिल्लो छः महिनामा भारतको 7.7 प्रतिशत जीडीपी वृद्धि भएको छ जुन पछिल्लो 10 वर्षका परिवर्तनकारी सुधारहरूको परिणाम हो। भारत गहिरो लोकतान्त्रिक मूल्य अनि व्यापार-वाणिज्यको ऐतिहासिक परम्परा भएको देश हो। भारतमा प्रत्येक निवेशक वा कम्पनीको लागि अवसरहरूको विविध श्रृङ्खला छ। प्रधानमन्त्रीले उक्त मन्तव्य शनिवार भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट फिनटेकसित सम्बन्धित ग्लोबल थट लीडरशिप प्लेटफर्म इन्फिनिटी फोरमको दोस्रो संस्करणमा व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले भने, अस्ट्रेलियाली प्रधानमन्त्रीले यसै वर्षको शुरूमा भनेका थिए कि भारत ग्लोबल साउथलाई नेतृत्व दिनका लागि सशक्त स्थितिमा छ। केही हप्ताअघि वर्ल्ड इकोनमिक फओरमले भनेको थियो, भारतमा लालफिताशाही कम भएको र निवेशको लागि श्रेष्ठ वातावरण सृजना भएको छ। प्रधानमन्त्रीले भने, “आज भारतको ग्रोथ स्टोरीले दुनियाँलाई साबित गरेको छ कि जब पलिसीलाई सर्वोच्च प्राथमिकता दिइन्छ, जब सुशासनको लागि सम्पूर्ण शक्ति खर्चिइन्छ, जब देश र देशवासीहरूको हित नै आर्थिक नीतिहरूको आधार हुन्छ तब परिणाम यस्तो हात लाग्छ। भारतीय अर्थव्यवस्थाले यस वित्तीय वर्षको पहिलो 6 महिनामै 7.7 प्रतिशतको दरले प्रगति गरेको छ।”
उनले भने, आज सारा दुनियाँले भारतसित आशा गरिरहेको छ, तर यो यसै भएको चाहिँ होइन। यो भारतको सशक्त हुँदै गएको अर्थव्यवस्था र पछिल्लो दशवर्षमा गरिएका परिवर्तनकारी सुधारहरूको परिणाम हो। उनले भने, गुजरात इन्टरनेशनल फाइनेन्स टेक (गिफ्ट) सिटीलाई नयाँ युगको वैश्विक वित्तीय, प्रौद्योगिकी सेवाहरूको वैश्विक केन्द्र बनाउन चाहन्छौं। गिफ्ट सिटीमा 21औं शताब्दिको आर्थिक नीतिहरूको मन्थन हुनु भनेको गुजरातको गौरव बढ़्नु हो। भारत आज विश्वको सबैभन्दा द्रूत गतिमा बढ़्दो फिनटेक बजारहरूमध्ये एक भएको छ। फिनटेकमा भारतको शक्ति गिफ्ट आईएफएससीको भिजनसित जोड़िएको छ जसले गर्दा यो स्थान फिनटेकको एक उदियमान केन्द्र बन्न गइरहेको छ। गिफ्ट सिटीसित दुनियाँको लागि ग्लोबल फिनटेक वर्ल्डको गेट-वे अनि फिनटेक लेबरोटरी बन्ने क्षमता छ।
प्रधानमन्त्री मोदीले यूनेस्कोको अमूर्त सांस्कृतिक धरोहरको सूचीमा गरबा नृत्यलाई सामेल गरिएकोमा गुजरातका मानिसहरूलाई बधाई दिए। उनले भने, गुजरातको सफलता देशको सफलता हो। प्रधानमन्त्रीले भने, आज विश्व समक्ष आइलागेको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये जलवायु परिवर्तन पनि एउटा हो। विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक भएको नातामा भारतले पनि यस चुनौतीलाई गम्भीर रूपमा लिएको छ। यसलाई लिएऱ हामी सचेत छौं।
हिन्दुस्थान समाचार/उष्णता
