– हामीलाई मार्गनिर्देश गर्ने एक असल सल्लाहकार चाहिएको छ जसलाई गोपाल लामाले पूरा गर्नेछः अनित थापा
सिलगढी, 07 फरवरी : अन्ततः पूर्व प्रशासनिक अधिकारी गोपाल लामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। पिन्टेल भिलेजमा आयोजित बीजीपीएमको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा गोपाल लामा पार्टीमा सामेल भएका हुन्। उनलाई पार्टी अध्यक्ष अनित थापाले खादा अर्पण गरी पार्टीमा सामेल गराए।
लामालाई स्वागत गर्दै अनित थापाले आफ्नो फेसबुक पोस्टमा भने, ’भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एक समावेशी सोच राखेर समाजका सबै वर्गका मानिसहरूलाई लिएर राजनीति गर्ने पहाडको एक शक्तिशाली राजनैतिक दल हो। लामाको लामो अनुभव अनि बौद्धिकता हाम्रो पहाडलाई चाहिएको छ। हामीलाई मार्गनिर्देश गर्ने एक असल सल्लाहकार पनि चाहिएको छ। हाम्रो अनुरोधलाई स्वीकार गरेर आज गोपाल लामा भागोप्रमोमा सामेल हुनुभएको छ। पार्टीका केन्द्रिय कार्यकारिणी सदस्यहरूको उपस्थितिमा आज हामीले उहाँलाई परिवारमा स्वागत गरेका छौं।’
भागोप्रमोमा सामेल पश्चात गोपाल लामाले एक भिडियो सन्देशमार्फत पार्टीको अनुरोध स्वीकार्नुको कारण बताउँदै भने, ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दिनु भएको पदभारलाई मैले स्वीकार गरे। मैले स्वीकार गर्नुको मुख्य कारणहरूमा पहिलो, हाम्रो मानिसले वर्षौदेखि पाउनु नसकेको जमीनको अधिकारलाई दिलाउने कार्य अनित थापाले गर्नुभयो। हाम्रो मानिसहरू यस अधिकारदेखि वञ्चित थिए। म स्वयं भूमि सुधार विभागमा कार्यरत थिए। जमीन कति मूल्यवान छ, त्यो म जान्दछु। दोस्रो, उहाँले पञ्चायतिराज पहाडमा फर्काई ल्याउनु भयो। अनित थापाको नेतृत्वमा जति पनि कामहरू भइरहेको छ, अति नै राम्रो काम भइरहेको छ। उहाँहरूसँग मिलेर अझ कसरी राम्रो काम गर्नु सकिन्छ भनी मैले आज पार्टीले दिएको पदभार स्वीकार गरे।’
