
सिलगढी : मेरो कार्यकाल अवधिमा नै सिलगढीमा गोर्खा भवन निर्माण गर्नेछु भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले भने, सिलगढीमा विभिन्न समुदायको जस्तै मारवाडीको निम्ति मारवाडी भवन, बिहारीको निम्ति बिहारी भवन रहेछ तर हामी गोर्खाको निम्ति कुनै भवन छैन। मैले डीएम म्याडमलाई जमीन हेर्ने आग्रह गरेको छु। मेरो कार्यकाल अवधिमा नै सिलगढीमा गोर्खा भवन निर्माण गर्नेछु।”
उनले अघि भने, हामी पहाड अनि तराईमा बस्ने गोर्खाहरुको निम्ति सिलगढी एउटा महत्वपूर्ण शहर हो। यहाँ मानिसहरू बजार भर्न आउँछन्। कोही उपचारको निम्ति आउँछन्। कोही आफ्ना नानीहरूलाई उच्च शिक्षा दिलाउन आउँछन् अनि धेरै मानिसहरूको निम्ति सिलगढी वास बस्ने शहर पनि हो यदि बिहान बिहान ट्रेन अथवा हवाई यात्रा गर्नु परे। यसरी काम परेको समय सिलगढीमा बस्नु परे अधिकत्तर मानिसहरू होटलमा बस्नु पर्ने हुन्छ। मैले विशेष गरी बिरामीहरूको उपचार गर्नेहरूलाई देखेको छु, महिना दिनसम्म होटल या किरायाको कोठामा बसेको। यस्तै समस्या देखेर धेरै दिनदेखि म सोच्दै थिए कि मारवाडी भवन, बिहारी भवन जस्तो यदि सिलगढीमा पनि गोर्खा भवन निर्माण गर्नु सकिए क्षेत्रका (पहाड, तराई अनि डुवर्स) गोर्खाहरुलाई धेरै सुविधा हुनेछ।”
यस विषयमा अनित थापाले अझ भने, गोर्खा भवन निर्माण विषय मैले दार्जिलिङ जिल्लापाललाई जमीन हेर्नु भनेर निर्देश दिइसकेको छ। म तपाईंहरुलाई वचन दिन्छु मेरो कार्यकाल अवधिमा नै सिलगढीमा गोर्खा भवन निर्माण गर्नेछु।”
