खरसाङ, 31 दिसम्बर (हि.स.)। खरसाङ फुटबल एसोसिएशनको आयोजनामा स्थानीय चानमारी मैदान खरसाङमा भइरहेको तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको तेस्रो दिन आज वुमेन्स एफसी मिरिक बनाम सिमलबारी स्पोर्टिङ क्लबमाझ भिडन्त भयो। आजको खेलमा मुख्य अतिथिको रूपमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान तथा खरसाङ अस्पतालका सोसियल वेलफेयर अधिकारी बिजय सिञ्चुरी र प्रतीक्षा प्रधान अतिथि थिए।
आजको खेलमा वुमन्स एफसी मिरिकले सिमलबारी स्पोर्टिङ एफसीलाई 7-0 को फराकिलो अन्तरले पराजित गऱ्यो। उत्कृष्ट प्रदर्शनको निम्ति सिमलबारी एससीकी सम्झना दर्जीलाई प्लेयर अफ द म्याच चयन गरियो। उनलाई अतिथि प्रतीक्षा प्रधानद्वारा पुरस्कार प्रदान गरियो। खेलमा अंश ग्रहणको निम्ति सिमलबारी एससीलाई प्रमुख अतिथिको बाहुलीद्वारा स्मृतिस्वरुप स्मृति चिन्ह प्रदान गरियो।
आज खेलमा मुख्य निर्णायकको रूपमा सुरेन गुरुङ, सहायक निर्णायकमा प्रमोद प्रधान, प्रतिक गुरुङ, फोर्थ अफिसियलमा सञ्जय थापा अनि जयेस प्रधान रहेका थिए। आगामी 2 जनवरीको दिन जेआर 32 एफए बनाम डुवर्स एफसीमाझ भिडन्त हुने खरसाङ फुटबल एसोसिएशनका सचिव सुदिप राईले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार/हनोक
