गान्तोक, 26 दिसम्बर (हि.स.)। तुमिन लिङ्गी समष्टिअन्तर्गत लिङ्गीमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को ब्लकस्तरीय पार्टी कार्यलय उद्घाटन गरियो। आज एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष केएन राईको अध्यक्षतामा लिङ्गीमा पार्टी कार्यालय उद्घाटन समारोह भब्यतापूर्वक सम्पन्न भयो। यस कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पार्टीका वरिष्ठ उपाध्यक्ष डीबी थापा, युवा नेता भाइचुङ भोटिया, डा. वीणा बस्नेत उपस्थित थिए।
यस अवसरमा सभा अध्यक्ष राईको बाहुलीद्वारा बल्कस्तरीय पार्टी कार्यलय विधिवत उद्घाटन गरिएको जानकारी एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ। यस कार्यक्रममा दीपेन तामाङ, मिलन गौतम, जननाथ लामिछाने, राजेश वालिङ, अरुण लिम्बू, विजय प्रधान, टीडी काजी, भाइचुङ भोटिया आदिले सम्बोधन गर्दै राज्यको समसामयिक विषयहरूमाथि आ-आफ्नो विचार साझा गरे।
आफ्नो अध्यक्षीय सम्बोधनको क्रममा राईले सिक्किमको अस्तित्व र माटो किन बचाउनु पर्यो, सिक्किमेलीहरूको पहिचान र परिचय किन बचाउनु पर्यो भन्ने गहिरो विषयबारे जनतालाई आवगत गराए। यसका साथै उनले आगामी २०२४-को चुनाउ सिक्किम बेच्ने र सिक्किम बचाउने जनमत सङ्ग्रह गर्ने चुनाउ हो भन्दै सिक्किम बचाउनका निम्ति अनुभावी नेता पवन चामलिङद्वारा नेतृत्वधीन एसडीएफ पार्टीलाई जनताले समर्थन गर्न आवश्यक छ भने।
सम्बोधनका क्रममा राईले रोलु दिवसका दिन एसकेएम अध्यक्ष पीएस गोलेले एसकेएम २.० भनी बयान गरेको विषयलाई खण्डन गर्दै एसकेएम पार्टी र वर्तमान मुख्यमन्त्रीले एसडीएफ पार्टीको सबै कार्यक्रम चोरेका छन् भने। एसडीएफ पार्टीले टेन मिनट्स टू अर्त, ग्रीन मिशनजस्ता पर्यावरणमुखी कार्यक्रमहरूद्वारा हरियाली बनाएको बन-जङ्गल तथा रूखपातलाई माया-दया नगरी फाडेर ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रम उद्घोषण गर्नु हाँस्यस्पद विषय हो भनी राईले गोलेप्रति कटाक्ष प्रहार गरे।
यसका अतिरिक्त मुख्यमन्त्री गोलेमा कुनै सिर्जनशीलता नभएको किटान गर्दै राईले सिक्किमेली जनतालाई सरकारको कार्यकाल बित्न लाग्दा पनि गोलेले कुनै नयाँ कार्यक्रम दिन नसकेको यहाँसम्म कि जनताले पाउँदै गरेको गरिब आवस योजना पनि एसडीएफ-ले नै सुरु गरेको योजना हो भने। अध्यक्षीय सम्बोधनको क्रममा राईले सिक्किम र सिक्किमेली जनतालाई जिताउनका निम्ति व्यक्तिगत स्वार्थलाई त्यागेर सबै एकताबद्ध बन्न एसडीएफ सहयोद्धाहरूलाई आग्रह गरे।
हिन्दुस्थान समाचार/बिशाल
