– अजय एडवर्डस्द्वारा मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार
दार्जीलिङ, 21 नोभेम्बर (हि.स.)। दार्जीलिङमा महिलाको मृत्युको उच्च स्तरीय जाँच गरिनु पर्ने माग गर्दै हाम्रो पार्टी अध्यक्ष एवं निर्वाचित सभासद अजय एडवर्डस्ले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेका छन्।
दार्जीलिङ जिल्ला अस्पतालमा एक महिलाको निधनको घटनाले पहाडमा शोकको माहौल छाएको छ। गत 16 नोभेम्बरको दिन लिङ्तेन बस्तीकी एक महिला डेलिवेरीको निम्ति जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्। हिजो, सोमवार महिलाले नानीलाई जन्म दिइन्।
आज बिहान फेरि जिल्ला अस्पतालको डाक्टरले दोस्रो पटक अपरेशन गर्दा उक्त महिलाको निधन भएको परिवारका सदस्यहरूले आरोप लगाएका छन्। परिवार पक्ष लगायत गाउँलेहरूले उक्त महिलाको मृत्यु डाक्टरहरूको लापरवाहीको कारणले भएको हो भन्ने भनाई छ।
सभासद अजय एडवर्डस्ले महिलाको निधनप्रति गहिरो शोक प्रकट गर्दै घटनाको उच्च स्तरीय कमिटी गठन गरेर जाँच गरिनु पर्ने माग गरेका छन्। उनले पत्रमा आमाको निधन कसरी भयो भन्ने बुझ्नका लागि उच्च स्तरीय कमिटी गठन गर्नु जरूरी रहेको बताएका छन्। उनले जाँचमा कुनै पनि अधिकारी र कर्मचारीहरूको लापरवाही पुष्टि भएको खण्डमा उनीहरूमाथि कारबाही गरिनुपर्छ भनी माग गरेका छन्।
हिन्दुस्थान समाचार/हनोक
