गान्तोक, 06 नोभेम्बर (हि.स.)। पवन चामलिङले मात्र राईहरूको सुरक्षा गर्नसक्छन् भन्दै राज्यको विभिन्न क्षेत्रमा गएर राज्यका राईहरूलाई बोलाएर राई सुरक्षा समितिले गोप्य बैठक गरेकोमा राई समुदायका सचेत व्यक्तिहरूले आपत्ति जनाएका छन्। जातिय विषयबारे बैठक भन्दै थुम थुमका राईहरूलाई बोलाएर केवल राजनीतिको कुरा गरेकोमा विष्णु चामलिङ, रत्न राई, विमल राई, शुष्मा राई अनि दिपेन्द्र राईले प्रतिवाद जनाए।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर राई सुरक्षा समितिले राई समुदायलाई राजनीतिक प्रेरित बनेर उनीहरूलाई दीग्भ्रमित गरिरहेको आरोप लगाउँदै उक्त गतिविधिको खण्डन गरे। विष्णु चामलिङले राई सुरक्षा समितिको रिमोट घुर्पीसेमा रहेको पनि दावी गरेका छन्। योसँगै राई सुरक्षा समितिले राज्यका राई समुदायलाई बोलाएर गोप्य बैठक गरिरहेको अनि उक्त बैठकमा उपस्थित हुनेहरूको फोन समेत बैठक कोठा बाहिर नै राख्ने गरेको अनि त्यो भित्र पसेपछि राईहरू सुरक्षित छैनन् अनि वर्ष 2024 मा केवल पवन चामलिङलाई जिताएर सरकारमा ल्याए मात्र राईहरूको सुरक्षा हुनेछ भन्ने गरेको खुलासा गरेका छन्।
गोप्य कोठाभित्र गरेको सभामा राई सुरक्षित छैन भन्नुले के इंगीत गर्छ भन्दै उनले प्रश्न तेर्साए। वर्तमान सरकारबाट वा सिक्किमका अन्य समुदायबाट को बाट राई समुदाय सुरक्षित छैन् भन्दै उनले प्रश्न गरे। यसका साथै राई समुदायलाई सिक्किमे अन्य समुदायमाझ पनि विभाजन गर्न खोजिरहेको उनले आरोप लगाए।
राईहरू सुरक्षित छैनन् भन्ने उनीहरूको वयानले अन्य समुदायसँग राई जातिलाई हिनताबोध गराउन खोजिएको पनि उनले विचार व्यक्त गरेका छन्। 25 वर्षसम्म राई समुदायको एक व्यक्तिले राज्यमा शासन गरेर सत्ताबाट झर्नसाथै राईहरू सुरक्षित छैनन् भनेर भन्नु सरासर राजनीतिक प्रेरित रहेको उनको भनाइ रहेको छ। यदि पवन चामलिङलाई वर्ष 2024 मा जिताएर सत्तामा नल्याए वर्ष वर्ष 2026 मा हुने डिलिमिटेसनमा राईहरू पञ्चायत चुनाउमा पनि उठ्न नसक्ने स्थिति सिर्जना हुन्छ भन्ने राई सुरक्षा समितिको बयानले केवल राईहरूलाई दिग्भ्रमित पार्न खोजेको पनि उनले बताए।
हिन्दुस्थान समाचार
