चितवन, 4 दिसम्बर (हि.स.)। सिक्किम र नेपालको पर्यटन उद्योगलाई अग्रता दिने उद्देश्य लिएर यतिबेला दुवै ठाउँका पर्यटन हितधारकहरु नेपालको एकदमै चर्चित पर्यटन गन्तव्य चितवनमा भेला भएका छन्। यसबीच कसरा पर्यटन व्यवसायी समिति, चितवन नेपाल र सिक्किम यूनाइटेड टुरिज्म अर्गनाइजेशले एक सम्झौता पत्रमा हस्ताक्षर गरे।
पर्यटन उद्योग विस्तारमा दुवै क्षेत्रका पर्यटन उद्यमीहरुले साझा हस्ताक्षर गरेर आपसी सहभागितालाई बलियो बनाउने लक्ष्य राखेका छन्। यस सम्मेलनलाई भगिनी सम्बन्ध समारोह नाम दिइएको थियो। नेपालको तर्फबाट कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डे र सुटोको पक्षबाट अध्यक्ष गणेश शिवकोटीले हस्ताक्षर गरे। दुवैले एघाह्र बुदेँ सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रम बागमती प्रदेशका सभासद ठाकुरप्रसाद ढकालको मुख्य आतिथ्यमा भएको हो। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै सुटो अध्यक्ष गणेश शिवकोटीले सिक्किम र चितवनबीचको भगिनी सम्बन्धले भविष्यमा पर्यटन उद्योगमाथि प्रभावी परिणाम आउने जिकिर गरे। उनले वाइल्ड लाइफ पर्यटनका लागि प्रसिद्ध चितवन सिक्किमको ग्रामीण पर्यटन,, इको टुरिज्म र होमस्टे टुरिज्मप्रति आकर्षित भएको बताए।
यसै गरि, सिक्किमले पनि वाइल्ड लाइफ पर्यटन विस्तारमा चितवनबाट सिक्ने उल्लेख गरे। चितवन वाइल्ड लाइफ सेञ्चुरी विश्व घरोहरको सूचिमा सामेल भएको पर्यटन केन्द्र हो भने सिक्किमले पनि विश्व धरोहर सूचिमा सामेल कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जलाई प्रचार-प्रशार गर्ने जानकारी गराए।
कार्यक्रममा बोल्दै मुख्य अतिथि सभासद ढकालले राजनीतिक उदासीनताको कारण नेपालको पर्यटन खस्किँदै गएको बताउँदै अब नयाँ पुस्ताका उद्यमीहरु सक्रिय बन्नुपर्ने आह्वान गरे। दुई दिवसीय सम्मेलनमा दुवै क्षेत्रमा पर्यटन उद्योग विस्तारमाथि छलफल गरिएको थियो।
उल्लेख्य, सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागीय अधिकारी र सिक्किम यूनाइटेड टुरिज्म अर्गनाइजेशन (सूटो) को 16 सदस्य टोली चितवन आइपुगेको छ। सुटो अध्यक्ष गणेश शिवकोटीको नेतृत्वमा टोलीले चितवनको पर्यटन उद्योग व्यवसायीहरुसंग विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरे।
स्मरण रहोस्, विश्वकै एकसिङ्गे गैड़ा पाउने वन्यप्राणी निकुञ्जको रुपमा परिचित चितवन, रिभर राफ्टिङ, बर्ड वाचिङ, वाइल्ड लाइफ, होमस्टे, अर्बनस्टेदेखि लिएर पाँचतारे होटलहरुका लागि प्रसिद्ध छ। यसलगायत स्थानीय थारु संस्कृति, विविध जनजातीय सांस्कृतिक धरोहरहरु र ठेट नेपाली कला संस्कृतिले अर्को लोकप्रियता दिएको छ।
पहिलो दिनको कार्यक्रम चितवनको सोल्टी पाँचतारे होटलमा सम्पन्न भयो। जुन कार्यक्रममा जिल्लापाल, सांसदहरु, नेपालकै प्रसिद्ध पर्यटन व्यवसायीहरु, नेपाल पत्रकार महासंघ, प्रेस क्लब अफ चितवन, भरतपुर नगरपालिका प्रतिनिधिहरु, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरु, पुलिस अधिकारीहरु, पर्यटन र सामाजिक संस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागिता थियो। यसअघि चितन आइपुगेका सिक्किमे टोलीलाई होटल व्यवसायी तथा भरपुर नगरपालिका पार्षद विष्णु राज महतोले स्वागत जनाए।
उल्लेख्य, सिक्किमे टोलीमा सुटोका जिल्लाका प्रतिनिधिहरु सामेल छन्, जसमा होमस्टे, होटल, ट्राभल्स, टुरिस्ट गाईड, साहसिक पर्यटन प्रतिनिधिहरु सहभागी छन्। पहिलो दिनको सम्मेलनमा कसरा पर्यटन व्यवसायी समितिका संरक्षक विष्णु राज महतो र उपाध्यक्ष चोपलाल पाण्डे पनि सम्बोधन गरेका थिए। यसबीच सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागको तर्फबाट पर्यटन अधिकारी दीपा गुरुङ र सुटोका प्रतिनिधिद्वय नावेद गौतम र प्रवेश छेत्रीले पावर पोइन्ट प्रेजेन्टेशन गरे।
हिन्दुस्थान समाचार / बिशाल
