खरसाङ, 27 अक्टोबर (हि.स.)। पूर्व भारतीय क्रिकेट कप्तान एवं पूर्व कोच अनिल कुम्बले रंगटङ्ग- शिवखोला क्षेत्रमा बर्ड वाचिङको लागि आएका थिए। पूर्व क्रिकेटर अनिल कुम्बले बिहिवार अपरान्ह खरसाङ महकुमाको रंगटङ्गदेखि शिवखोलासम्म बर्ड वाचिङको लागि आएको जानकारी प्राप्त भएको छ।
उनले बिहिवार दिउॅंसो 1 बजीदेखि साँझ 5 बजीसम्म रंगटङ्गदेखि शिवखोलाका विभिन्न क्षेत्रहरूमा बर्ड वाचिङ गरेको रंगटङ्गका बर्ड वाचरहरूका गाइड एवं महानन्दा ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाईटीका सह सचिव संजोग देवानले जानकारी गराएका छन्। यस क्षेत्रमा पूर्व भारतीय क्रिकेटर बर्ड वाचिङको लागि आएर धेरै खुशी भएको अनि यो सुन्दर स्थान फेरि आउने इच्छा गरेको उनले बताएका छन्।
कुम्बे वन विभागको सिफारिशमा सुरक्षा व्यवस्थासहित बर्ड वाचर संजोग देवानकहॉं आएपछि देवानले नै विभिन्न स्थानहरूमा बर्ड वाचिङको लागि लिएर गएको बताइएको छ। तर उनी आएर कता बसे त्यो सुरक्षा कारणले नखुलाएको थाहा लागेको छ। बर्ड वाचिङपछि आफ्नो मत साझा गर्दै पूर्व भारतीय क्रिकेटर अनिल कुम्बलेले रंगटङ्ग शिवखोला क्षेत्रमा आएर हर्नबिल हेर्न पाएर धेरै खुशी लागेको बताएका थिए।
उनले शहरको कोलाहलदेखि निस्केर यहाँ प्राकृतिक सुन्दरताले भरिएको स्थानमा आएर बर्ड वाचिङ गर्न पाउँदा धेरै खुशी लागेको बताउँदै यहाँ पुनः आउने पनि बताएका छन्। उनले यहाँको मनोरम दृश्यहरू साथै स्थानीय मानिसहरूको पनि प्रशंसा गरेका थिए। पूर्व क्रिकेटर अनिल कुम्बलेद्वारा यस क्षेत्रमा महानन्दा ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाईटीले गरिरहेका विभिन्न कार्यहरूको पनि सराहना गरेको बताइएको छ।
उल्लेखनीय छ, खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको रंगटङ्ग शिवखोला क्षेत्रमा रहेको प्राकृतिक सुन्दरताको कारणले अहिले पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। त्यसरी नै रंगटङ्ग शिवखोला क्षेत्रमा विभिन्न प्रजातिका चराहरू पाइने भएकाले बर्ड वाचिङको मुख्य केन्द्र बनेको छ।
हिन्दुस्थान समाचार/हनोक
