नयाॅं दिल्ली, 28 नोभेम्बर (हि.स.)। रूसका राष्ट्रपति भ्लादिमिर पुतिन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि 4 दिसम्बरमा भारत आउने भएका छन्। आफ्नो भारत यात्राका क्रममा उनी नयाँ दिल्लीमा आयोजित हुने 23औँ भारत–रूस वार्षिक शिखर वार्तामा सहभागी हुनेछन्।
विदेश मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। भ्रमणको क्रममा राष्ट्रपति पुतिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।
यसका साथै राष्ट्रपति द्रौपदी मुर्मुले पुतिनको स्वागतमा भोज आयोजना गर्नेछिन्।
पुतिनको आगामी राजकीय यात्रा भारत–रूस नेतृत्वलाई द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ। यसले विशेष तथा अधिकार प्राप्त रणनीतिक साझेदारीलाई थप बलियो बनाउने दृष्टिकोण तय गर्ने अपेक्षा गरिएको छ। यात्रा अवधि क्षेत्रीय तथा वैश्विक मुद्दा, साथै दुवै देशका साझा हितसँग सम्बन्धित विषयहरूमा विचार–विमर्श हुनेछ।
उल्लेखनीय छ, भारत र रूसबीच वार्षिक रूपमा पालैपालो शिखर वार्ता आयोजना हुँदै आएको छ।
राष्ट्रपति भ्लादिमिर पुतिन 2021 मा अन्तिम पटक भारत आएका थिए।
यसपटक कयौँ रक्षा सम्झौता हुने सम्भावना बताइन्छ। त्यससँगै युक्रेन युद्ध सम्बन्धी विषय पनि दुई नेताबीच छलफलको एजेन्डामा रहने अनुमान छ।
—————
हिन्दुस्थान समाचार / भवानी थामी
