गान्तोक, 10 अक्टोबर (हि.स.)। राष्ट्रिय तम्बाकू मुक्त युवा अभियान 3.0 को सुरुवातसँगै सिक्किममा पनि स्वास्थ्य एवं परिवार कल्याण विभाग अन्तर्गत राज्य तम्बाकू नियन्त्रण प्रकोष्ठले तम्बाकू मुक्त युवा अभियान 3.0 शुभारम्भ गरिएको हो। यस अभियानको शुरुवात राजधानीको स्वास्थ्य सचिवालयस्थित सम्मेलन हलमा बिहिवार आयोजित एक कार्यक्रमबीच गरियो।
कार्यक्रममा स्वास्थ्य एवं परिवार कल्याण विभाग सचिव छेवाङ ग्याछो मुख्य अतिथि र अन्तरराष्ट्रिय रेफ्री, बक्सिङ फेडरेशन अफ् इण्डिया प्रितम शिलाल विशेष अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा स्वास्थ्य विभागका वरिष्ठ अधिकारीहरू, सबै जिल्लाका मुख्य चिकित्सा अधिकारीहरू, जिल्ला नोडल अधिकारीहरू आदि भर्चुअल माध्यमद्वारा सहभागी बनेका थिए।
मुख्य अतिथि सचिव छेवाङ ग्याछोले आफ्नो सम्बोधनमा राज्यभरि सुर्तीजन्य पदार्थमुक्त वातावरणलाई दिगो र संस्थागत गर्ने महत्त्वमाथि प्रकाश पारे। उनले यस अभियान अन्तर्गत सबै स्वास्थ्य सेवा संस्थान, शैक्षिक संस्थान र सरकारी कार्यालयहरूले आगामी 60 दिनभित्र तम्बाकूमुक्त घोषणा गर्नुपर्ने स्पष्ट निर्देशन जारी गरे। यो घोषणा राज्य तम्बाकू नियन्त्रण प्रकोष्ठले तोकेको मापदण्डको आधारमा गर्नुपर्ने पनि उनले बताए।
सचिवले सूचना, शिक्षा र सञ्चार गतिविधिहरूलाई तीव्र बनाउन आह्वान गर्दै तृणमूल स्तरसम्म यो सन्देशलाई सम्प्रेषित गर्न परम्परागत उपचारकहरू, समुदायका नेताहरू र धार्मिक व्यक्तित्वहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए। उनले यस अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्य चिकित्सा अधिकारीहरू र जिल्ला नोडल अधिकारीहरूलाई सम्बन्धित जिल्लापालहरूको परामर्शमा जिल्लास्तरीय कार्य योजना तयार बनाउन निर्देश दिए।
सचिव ग्याछोले यस अभियानको सफलता सुनिश्चित गर्न सबै जिल्लापालहरूलाई समर्थन र सहकार्यको लागि अनुरोध गर्दै विभागले औपचारिक रूपमा पत्र पनि पठाएको जानकारी गराए। उनले सबै जिल्ला टोलीहरूलाई सक्रिय अन्तर विभागीय समन्वय र सामुदायिक स्तरमा संलग्नता सुनिश्चित गर्न आह्वान गर्दै दैनिक रूपमा प्रगति प्रतिवेदन पठाउन निर्देश दिए। उनले राष्ट्रिय अभियानपछिको मूल्याङ्कनमा सिक्किम उत्कृष्ट प्रदर्शन गर्ने राज्यहरूमा पर्ने विश्वास व्यक्त गरेका छन्।
यस अभियानको उद्घाटन गतिविधिको रूपमा तम्बाकूमुक्त पुस्ता निर्माण गर्ने दिशामा प्रतिबद्धता व्यक्त गर्दै शपथ ग्रहण समारोह सम्पन्न गरियो। सचिव ग्याछोले अधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए।
हिन्दुस्थान समाचार / बिशाल
