कोलकाता, 18 अगस्त (हि. स.)। मालदा जिल्लामा बाढ़ीको स्थिति अहिले पनि गम्भीर अवस्थामै छ। गंगा, महानन्द तथा फूलहार नदी खतरादेखि माथि बगिरहेका छन्। मानिकचकको गोपापुर एवं वैष्णबनगर क्षेत्रमा गंगाको कटाउ जारी छ भने महानन्द नदीको पानी इंग्लिश बजार तथा पुरातन मालदाका केही भागहरूमा पसेको छ। केही वार्डहरू अहिले पनि पानीमा डुबेका छन् भने मानिसहरू घरभित्र फसेका छन्।
आपदा प्रबन्धन विभागका अधिकारीले सोमवार बताए, लगभग 3 सय परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। जिल्लामा अवस्थित स्कूलहरूलाई क्याम्पको रूपमा विकसित गरिएको छ जहाँ बस्ने, खाने, चिकित्सा आदिको व्यवस्था गरिएको छ।
मौसम विभागले उत्तर बंगालमा घना वर्षा हुने चेताउनी दिएको छ जसबाट मानिसहरूको चिन्ता झन् बढ़ेको छ। जिल्लाका विशाल क्षेत्रमा भय व्याप्त भएको छ।
लगभग एक महिनापूर्व मानिकचकको भुतन क्षेत्रमा 01 करोड़ 35 लाख रुपियाँको लागतमा निर्मित बाँध भत्किएको थियो जसबाट बाढ़ीको पानी सम्पूर्ण क्षेत्रमा फैलियो। ग्रामीणहरूले आरोप लगाए, बाँधको गुणस्तर अत्यन्त तल्लो स्तरको थियो।
दक्षिण मालदाकी कंग्रेस सांसद इशा खान चौधरीले भनिन्, मालदाका मानिसहरूको यस समस्याको निम्ति केन्द्र अनि राज्य दुवै सरकार जिम्मेवार छ। दुवै सरकार तुरून्त राहत तथा बचाउ कार्यको लागि अग्रसर हुनुपर्छ। मौसम विभागले बताएको छ, यस सम्पूर्ण हप्ता वर्षाको सिलसिला जारी रहनेछ, त्यसैले अवस्था अझ बिग्रिनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
