काठमाडौं। भारतका मुख्य न्यायाधीश (CJI) D.Y. चन्द्रचुड तीनदिने औपचारिक भ्रमणमा यहाँ आइपुगेका हुन् । भारतका वर्तमान प्रधानन्यायाधीशको यो पहिलो नेपाल भ्रमण हो । यसै क्रममा उनले आफ्ना नेपाली समकक्षीसँग भेटघाट गर्ने र बालअधिकारसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा यहाँ आएका न्यायाधीश चन्द्रचुडलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गरेका थिए ।
नेपालको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार ‘भारतका वर्तमान प्रधानन्यायाधीशले नेपालको औपचारिक भ्रमण गरेको इतिहासमा यो पहिलो पटक हो । केन्द्रीय बाल न्याय समितिले शनिबार काठमाडौंमा आयोजना गर्न लागेको बालअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीमा न्यायाधीश चन्द्रचुड मुख्य वक्ता हुने भएका छन् । उप्रेतीका अनुसार न्यायाधीश चन्द्रचुडले सोही साँझ नेपालका प्रधानन्यायाधीशसँग मैत्रीपूर्ण भेट गर्नेछन् । उनले न्यायमूर्ति श्रेष्ठले आफ्ना भारतीय समकक्षीको सम्मानमा रात्रिभोज पनि आयोजना गर्ने बताए । न्यायधिश चन्द्रचुड औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कने छन् ।
