धुबड़ी (असम): जिल्लाको खलीसामारीमा बाल विवाहविरूद्ध पुलिसले निरन्तर कारबाही गरिरहेको छ। असम-पश्चिम बंगाल सीमावर्ती क्षेत्र छोटोगुमा निरीक्षण पुलिस चौकीका प्रभारी अधिकारी जहाँगीर आलमले बितेको बुधवार राती छापा मारेर अवैध विवाह हुनदेखि रोक लगाए। पुलिसले बेहुला-बेहुली सहित सबै जन्तीहरूलाई हिरासतमा लिएर थानामा ल्यायो।
पुलिसले बिहीवार बतायो, गए बुधवार राती सूचना प्राप्त भएको थियो कि छिमेकी राज्य पश्चिम बंगालको कुचबिहार जिल्ला अन्तर्गत तूफानगंज उपमण्डलको जोरईमोर निवासी बेहुला गोलकगंजको छोटोगुमा थानाको खलीसामारीमा 17 वर्षीय युवतीसित विवाह गर्नको लागि आएको छ। त्यसपछि गोलोकगंज थानाको छोटोगुमा निरीक्षण पुलिस चौकीका प्रभारी जहाँगीर आलम विवाह स्थलमा पुगे अनि बाल विवाह हुनदेखि रोके।
पुलिसले पश्चिम बंगालको जोरईमोरको बेहुला सबिरूल शेख, विद्याडाबड़ीको हफिजुर रहमान, धुबड़ीको झागरापारको सबिदुल इस्लाम, अनवर हुसैन, वाहन चालक अनवर हुसैन, खलीसामारीको जियारूल मण्डल, बेहुलीकी मामा जलालुद्दीन मियाँ र बेहुलीलाई हिरासतमा लिएर थानामा ल्यायो।
यसरी नै विवाहको सिलसिलामा अर्को घटना अघि आएको छ। जन्म प्रमाण पत्रमा कन्याको जन्म तिथि 13-01-2006 छ भने स्कूल प्रमाण पत्रमा जन्म तिथि 13-01-2007 छ। यो प्रमाण पत्र हलाकुरा स्वास्थ्य केन्द्रबाट जारी गरिएको थियो। हलाकुरा स्वास्थ्य केन्द्रमा नक्कली सील मोहरको प्रयोग गरी नक्कली जन्म प्रमाण पत्र बनाएको हुनसक्ने आशंका व्यक्त गरिँदैछ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
उल्लेखनीय छ, राज्य सरकारले बाल विवाहको कुप्रथालाई पूर्ण रूपले रोक्नको लागि विभिन्न प्रकारका अभियानहरू चलाइरहेको छ। बाल विवाहलाई रोक्नको लागि राज्यमा कानून पनि बनाएको छ। यद्यपि बाल विवाहलाई लिएर राज्यका मानिसहरूमा जागरूकता आएको छैन। मुख्यमन्त्रीले आगामी वर्ष 2025-सम्ममा राज्यमा बाल विवाहमाथि पूर्ण रूपले रोक लगाउने घोषणा गरिसकेका छन्।
