गान्तोक, 06 जनवरी (हि.स.)। दक्षिण सिक्किम नाम्ची जिल्ला अन्तर्गत याङगाङ निवासी बिर्ख बहादुर बस्नेत तथा मुख्यमन्त्री प्रेमसिंह तामाङका प्रेस सचिव विकास बस्नेतका पिताको असामयिक निधनपछि आज उनी पञ्चतत्त्वमा बिलीन भए। मङ्गलेस्थित टिस्टा घाटमा आज उनको अन्तिम संस्कार गरियो।
स्मरण रहोस्, उनको 5 जनवरी, 2024 को दिन निधन भएको थियो। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले उनको आत्माले बैकुण्ठ वास गरोस् भन्ने कामना गरेको छ।58 वर्षीय बिर्ख बहादुर बस्नेत सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक कर्मठ सदस्य तथा मार्गदर्शक थिए भनी एसकेएम पार्टीले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ। एसकेएमले भनेको छ, बिर्ख बहादुर बस्नेतको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ। सरकारी कर्मचारीको रूपमा सेवारत उनलाई मृदुभाषी, मिलनसार अनि कर्तव्यनिष्ठ व्यक्तित्वको रूपमा चिनिन्छ। उनले आफूपछि पत्नी, दुई छोरा, एक बुहारी अनि नातीलाई छोड़ेर गएका छन्।
एसकेएम पार्टीले स्वर्गीय बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा यो घड़ी पीड़ा सहन गर्नसक्ने शक्ति भगवानबाट प्राप्त होस् भनी समवेदना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार/बिशाल
