– सबै परिवारका एक सदस्यलाई जनवरी महिनाअघि नोकरी दिने घोषणा
– पवन चामलिङको ‘सिक्किम बचाऔँ अभियान’ परिवार बचाउने अभियान
– टिस्टा त्रासदी ‘चामलिङ मेड डिजास्टर’
रोलु, 21 दिसम्बर (हि.स.)। ‘2024 सोलिड एसकेएम’ नाराका साथ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले 15औं रोलु दिवस भव्यताका साथ पालन गरेको छ। आज दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्र अन्तर्गत रोलु मन्दिर परिसरमा आयोजित 15औं रोलु दिवसका अवसरमा एसकेएम समर्थकहरूको बाक्लो उपस्थिती रहेको थियो। रोलु मन्दिरमा पूजा—अर्चना गरेपछि एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री पीएस तामाङले मूल कार्यक्रममा सहभागि बनेका थिए।
कार्यक्रममा तिमी तार्कुका जिल्ला पञ्चायत सदस्य दुर्गा प्रसाद शर्मा, फुटबलर निर्मल छेत्री, सञ्जय दिलपाली राई एसकेएम पार्टीमा सामेल भए। तथापि यस वर्षको रोलु दिवसमा जोइनिङ कार्यक्रम अघिबाटै तय नगरिएकाले एसकेएम पार्टीमा सामेल हुन चाहनेहरूलाई सामेल गराउन जनवरी महिनाको पहिलो हप्ता कार्यक्रम आयोजना गर्ने मुख्यमन्त्रीले जानकारी गराए।
15औं रोलु दिवस समारोहलाई सम्बोधन गर्नेक्रममा मुख्यमन्त्री तामाङले 21 दिसम्बरलाई एसकेएम पार्टीको लागि सबैभन्दा महत्त्वपूर्ण दिन बताए। 2009 को 21 दिसम्बरका दिन नै व्यवस्था परिवर्तनको शंखघोष गरिएको स्मरण गराउँदै तत्कालिन सरकारको ‘तानाशाही’ प्रवृत्तिबाट जनतालाई मुक्ति दिलाउनु नै रोलु दिवसले भूमिका निर्वाह गरेको बताए। त्यसताको एसडीएफ सरकारले रोलुबाट उठेको विद्रोहको आवाजलाई रोक्न भरपूर प्रयास गरेको, तर अडिग भएर अघि बढ्ने प्रतिवद्धताबाट नभागेको कारण नै एसकेएम पार्टी सत्तामा पुग्न सकेको मुख्यमन्त्रीले बताए।
मुख्यमन्त्री तामाङले अघि भने, ‘2009 मा हामीले रोलुबाट सल्काएको पुल्ठोले तत्कालीन रावण राजा सिक्किमबाट ध्वस्त भयो, रावणको लङ्का जल्यो।’ जनताले गरेको संघर्षका कारण नै 25 वर्ष सत्तामा रहँदा आफूलाई बाघ ठान्ने, मेरो विकल्प नै जन्मिएको छैन भन्ने पवन चामलिङ अहिले जनताको अघि गएर माफी माग्नु बाध्य बनेका छन् भन्दै जनताको प्रतिवद्धतालाई मुख्यमन्त्रीले धन्यवाद दिएँ। आफूले 2009 मा रोलुमा गरेको प्रतिवद्धतामा अहिले पनि अडिग रहेको र त्यस समयका सहयोगीलाई आफूले भुलेको छैन भन्दै सबै क्रान्तिकारीले न्याय पाउने उनले बताए।
पूर्व मुख्यमन्त्री पवन चामलिङले सत्तामा रहँदा जनताको वास्ता नगरेका, तर आज तिनै जनताको भोटले सत्ता बाहिर बनेपछि जनता सामु माफी माग्न बाध्य बनेको उल्लेख गरे। जनतालाई पवन चामलिङले फेरि झुक्याउने प्रयास गरिरहेको मुख्यमन्त्री तामाङले आरोप लगाए। यस अवसरमा मुख्यमन्त्रीले आफ्नो सरकारले शुरु गरेका कल्याणकारी योजनाबारे जानकारी गराएका थिए। उनले आमा योजना, वात्शाल्य योजना, बहिनी योजनाबाट राज्यका महिलाको सम्मान भएको जानकारी दिॅंदै चाँडै कलेजस्तर र निजी विद्यालयमा पनि बहिनी योजना लागू गराइने बताए। उनले 2015 सम्मका सबै एडहक शिक्षक चुनाउअघि स्थायी गरिने बताए।
मेरो रुख मेरो सन्तति योजनाले वैश्विक स्तरमा मान्यता पाएको बताउॅंदै मुख्यमन्त्री तामाङले मेरो रुख मेरो सन्तति योजना अन्तर्गत प्रत्येक नयाँ नानीको जन्मपछि आमालाई 10 हजार आर्थिक सहयोग दिइने बताए। मुख्यमन्त्रीले एसकेएम सरकारको कार्यकालमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार आएको दाबी गरे। सोरेङ, नाम्ची र सिङ्ताममा नयाँ अस्पताल बनिरहेका साथै पाकिम र रिनाकमा नयाँ अस्पताल बनाउने योजना रहेको उनले बताए। शिक्षामा सुधार ल्याउन सरकारले धेरै काम गरेको पनि उनले बताए। एनआईटीका लागि जमीन दिलाउनु, मनिपालमा सिक्किमका 80 जना विद्यार्थीले पढ्न पाउनु, कञ्चनजङ्घा राज्य विश्वविद्यालयका लागि जमीन दिइनु, सोरेङ सुवास चन्द्र बोस सेन्टर फर् एक्सिलेन्स स्थापना गरिनु, शिक्षा क्षेत्रमा ठुलै उपलब्धि रहेको मुख्यमन्त्रीले बताए।
महिलाहरूको पक्षमा बोल्दै उनले सरकारी ठिकाको काममा 10 करोडसम्म टीडीआर फ्री गराउने र 10-20 करोडसम्मको काममा टीडीआर 50 प्रतिशत गराउने, सरकारी नोकरी नभएका सबै परिवारका एक सदस्यलाई जनवरी महिना अघि नोकरी दिने घोषणा गरे। टिस्टा त्रासदीलाई मुख्यमन्त्री तामाङले चामलिङ मेड डिजास्टर बताए भने यो त्रासदीमा परेका सबै पीडितलाई सरकारले घर बनाइदिने बताए। उनले टिस्टा उर्जा ड्याम निर्माण गुणवत्तामाथि जॉंच भइरहेको पनि जानकारी गराए। पाँच वर्ष एसकेएम सरकारको काम ट्रेलर मात्रै रहेको पिक्चर बाँकी नै छ भन्दै ट्रेलरलाई मात्रै पनि विश्वले प्रशंसा गरेका र आगामी चुनाउमा 32 सिटनै जितेर 2025 मा भारतमा विलयको 50 वर्ष पूरा हुँदा सिक्किम देशकै सर्वोत्तम राज्य बनाउने लक्ष्यसहित काम गर्ने बताए।
पूर्व मुख्यमन्त्री पवन चामलिङले शुरु गरेको सिक्किम बचाऔँ अभियानलाई केवल परिवार बचाउने अभियान मात्रै हो भन्दै पवन चामलिङबाट सिक्किम बचाउनुपर्ने बताए। उनले भाइचुङ भोटिया एसडीएफ पार्टीमा सामेल हुनुको औचित्यमाथि पनि प्रश्न गरेका छन्। मुख्यमन्त्रीले सुनौलो सिक्किम एसकेएम दोस्रो कार्यकालको प्रतिवद्धता बताउँदै सबैलाई सुनौलो सिक्किम मिशन सफल बनाउन पार्टी कार्यकर्तालाई संकल्प दिलाए।
यस अवसरमा उनले सिक्किमको प्रचार प्रसार गर्ने कार्य युवालाई दिने बताए जसका लागि सिक्किम क्रिएटरपेनर योजनाको घोषणा गरे। यसमा 10 हजारदेखि पाँच लाखसम्म प्रोत्साहन राशि युवालाई दिइने उनले बताएका छन्। यस योजनामा वार्षिक 100 करोड रुपियाँ धनराशि राखिने जानकारी दिए। राज्यका चालकको हितमा चालक बीमा योजना शुरु गर्ने जसले एक वर्षमा 10 लाख रुपियाँसम्मको बीमा कभर हुने उनले घोषणा गरे।
यसरी नै आमा चेलीका लागि वर्षमा चारवटा एलपीजी ग्यास सिलिण्डर सरकारले दिने घोषणा गरे। वान फेमिली वान जबका कर्मचारीलाई जनवरीभित्र स्थायी गराउने मुख्यमन्त्रीले घोषणा गरे। सरकारी कर्मचारीलाई ओल्ड पेन्सन योजना फर्काउने, र वान ऱ्याङ्क वान पेन्सन पोलिसी 2024 देखि लागू गरिने बताए। 2024 को चुनाउअघि सिक्किमका प्रत्येक घरमा एउटा न एउटा सहुलियत पुग्ने उनले जानकारी दिए भने पार्टी कार्यकर्तालाई आजदेखि मिशन 2024 शुरु भएको बताए।
हिन्दुस्थान समाचार/होमनाथ
