बदायूँ, 30 अक्टोबर : उत्तर प्रदेशको बदायूँ जिल्लामा सोमवार बिहान उसावाँ थाना क्षेत्रमा स्कूल बस र स्कूल भ्यानमाझ भिड़न्त भएर ठूलो दुर्घटना भयो। यस दुर्घटनामा चारजना नानीहरू सहित पाँचजनाको मृत्यु भएको छ भने सोह्रजना घाइते भएका छन्। सबै घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। घटनाको जानकारी पाएर जिल्लाधिकारी मनोज कुमार अ एसएसपी डा. ओपी सिंह घटनास्थलमा पुगेका छन्।
उसावा थाना क्षेत्रको एसआरपीएस इङ्ग्लिश मीडियम स्कूल, गौतराको मारूति भ्यान र सत्यदेव इन्टर कलेज म्याऊँको स्कूल बस नवीगञ्ज र म्याऊँ नगर नजिक आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। दुर्घटनामा भ्यान चालक ओमेन्द्र सहित तिनका छः वर्षीय छोरा हर्षित, खुसी, प्रदीप तथा कौशल्याको मृत्यु भयो। सोह्रजना नानीहरू घाइते भएका छन्। दुर्घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवहरूलाई कब्जा गऱ्यो भने घाइतेहरूलाई अस्पतालमा भर्ती गरायो। घाइतेहरूमा केही नानीहरूको अवस्था गम्भीर रहेको बताइँदैछ।
जिल्लाधिकारीले बताए, म्याऊँ थाना क्षेत्रमा स्कूल बस अनि भ्यान आपस्तमा ठोक्कियो। दुर्घटनामा भ्यान चालक सहित चारजना विद्यार्थी नानीहरूको मृत्यु भएको छ भने सोह्रजना नानीहरू घाइते भएका छन्। मृतकहरूमा पिता-पुत्र पनि सामेल छन्। घाइते कतिपय विद्यार्थीहरूको अवस्था चिन्ताजनक छ। उनीहरूलाई सर्वोत्कृष्ट उपचार उपलब्ध गराउने निर्देश डाक्टरहरूलाई दिइएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
