गान्तोक, 22 अक्टोबर (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आइतवार बिहान भारतीय वायु सेनाको हेलिकप्टरमा उत्तर सिक्किमको चुङथाङ पुगे। टिस्टा त्रासदीपछि मुख्यमन्त्री तामाङ आज लगभग 18 दिनमा पहिलोपल्ट चुङथाङको निरीक्षण भ्रमणमा पुगेका हुन्।
चुङथाङमा मुख्यमन्त्रीलाई सडक एवं पुल विभाग मन्त्री साम्डुप लेप्चा, आईटीबीपीको 11औं बटालियनका सेनानी रतनसिंह सोनल, मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री, चुङथाङका एसडीएम किरण ठटाल आदिले स्वागत जनाए।
मुख्यमन्त्री तामाङले आफ्नो भ्रमण अवधि बाढी प्रभावित क्षेत्रहरूको भ्रमा गर्नेछन् र पीड़ित मानिसहरूसॅंग भेट गर्नेछन्। यसैगरी, बाढी प्रभावित परिवारहरूलाई अनुग्रह राशि पनि प्रदान गर्नेछन्।
गत 4 अक्टोबर बिहान दक्षिण ल्होनाक झील फुटेपछि टिस्टा नदीमा आएको बाढीले सिक्किमको चार जिल्लामा जनधनलाई व्यापक क्षति पुगेको छ। बाढीले चुङथाङमा सञ्चालित 1200 मेगावाटको जलविद्युत परियोजना सिक्किम उर्जाको ड्यामलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। बाढीले पुल र सडक मार्गहरू ध्वस्त बनाएपछि चुङथाङसॅंग सम्पर्क टुटेको छ।
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण अनुसार, उत्तर सिक्किममा बाढीले 4 जनाको मृत्यु भएको छ भने 23 जना अझ पनि बेपत्ता रहेका छन्। बाढीले यहॉंका 50 वटा गाउॅं/वार्डका 30 हजार 300 जना प्रभावित बनेका छन्।
यस जिल्लामा बाढीले 566 वटा घरलाई क्षति पुऱ्याएको छ। यहॉं स्थापित 2 वटा राहत शिविरमा अझै पनि 95 जना रहेका छन्। बाढीले जिल्लाका 58 वटा दोकानलाई क्षति पुऱ्याएको छ भने 26 वटा पुल भत्काएको छ।
मुख्यमन्त्रीको साथमा ग्रामीण विकास विभाग मन्त्री सोनाम लामा, मुख्यमन्त्रीका सचिव एसडी ढकाल, राहत आयुक्त अनिलराज राई तथा सीएमओका अधिकारीहरू पनि चुङथाङ गएका छन्।
हिन्दुस्थान समाचार/बिशाल
