– केही सैनिकहरू घाइते, अस्पतालमा भर्ती
गोलाघाट (असम), 4 फरवरी : जिल्लाको देरगाउँस्थित लाचित बोरफुकन पुलिस अकादमीमामा बितेको शनिवार राती लगभग 8.30 बजे मणिपुरको कुकी औ मैतेई समुदायका पुलिस प्रशिक्षणार्थीहरूमाझ हिंसक झड़प भयो। दुवै पक्षले एका-अर्कालाई धारिलो हतियारहरूले आक्रमण गरे जसमा धेरैजना प्रशिक्षणार्थीहरू घाइते भए। सातजना प्रशिक्षणार्थीहरूलाई देरगाउँको सामुदायिक अस्पतालमा भर्ती गरिएको छ भने कतिपयलाई जिल्ला अस्पतालमा रेफर गरिएको छ। शिविरमा तनाउ कायम भए पनि स्थिति नियन्त्रणमा छ।
जानकारी अनुसार देरगाउँको लाचित बोरफुकन पुलिस अकादमीमा प्रशिक्षण लिरहेका मणिपुरका कुकी औ मैतेई समुदायका पुलिस प्रशिक्षणार्थीहरूबीच ठूलो झड़प भयो। भनाबैरीपछि शुरू भएको विवाद हिंसक संघर्षमा परिणत भयो। उक्त हिंसक घटनामा दुवै गुटका प्रशिक्षणार्थीहरूले एका-अर्कामाथि धारिलो हतियारले आक्रमण गरे जसकारण धेरैजना प्रशिक्षणार्थीहरू घाइते भएका छन्। जानकारी अनुसार मणिपुर पुलिसका सातजना कर्मीहरूलाई देरगाउँको सामुदायिक अस्पतालमा रेफर गरिएको छ भने केही घाइतेहरूलाई जोरहाट मेडिकल कलेजमा रेफर गरिएको छ। पुलिस अकादमीमा प्रशिक्षणार्थीहरूमाझ हिंसक झड़प भएको खबरले अधिकारीहरूमा खैलाबैला मच्चियो। वरिष्ठ पुलिस अधिकारीहरूले घटनास्थलमा पुगेर स्थितिको जायजा लिए। पुलिस प्रशिक्षण कलेजमा अहिले पनि तनाउपूर्ण स्थिति छ।
यसैबीच असम पुलिस महानिदेशक जीपी सिंहले भने, दुई पक्षमाझ खाना वितरणलाई लिएर विवाद शुरू भएको थियो जसलाई हल गरिएको छ। रेञ्ज पुलिस महानिरीक्षक (आईजीपी) औ उपमहानिरीक्षक (डीआईजी) प्रशिक्षणले घटनास्थलमा पुगेर प्रशिक्षणार्थीहरूको पक्षलाई सुने अनि सौहार्दपूर्ण ढङ्गले मामिलाको हल गरे।
