गान्तोक, । अखिल सिक्किम अनुसूचित जाति कल्याण संघद्वारा आयोजित दुई दिवसीय अनुसूचित जाति संस्कृति संरक्षण महोत्सवको आज समापन भयो। रानीपुलस्थित सरमसा गार्डनमा हिजोदेखि शुरू भएको दुई दिवसीय कार्यक्रमको समापन अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनकी धर्मपत्नी कृष्ण राई लगायत मन्त्रीगण, विधायकगणको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य र देशको निर्माणको निम्ति अन्य जातिको जति योगदान छ, अनुसूचित जातिको पनि त्यति नै योगदान रहेको बताए। अनुसूचित जातिबीच पनि कामी, दमाई र सार्की नभनेर सिक्किमे अनुसूचित जाति भनेर अघि बढनु पर्ने सुझाउ दिए। दुई दिवसीय कार्यक्रम आयोजना गरेर अनुसूचित जाति कल्याण संघले इतिहास लेखेको पनि उनले बताए। यस प्रकारको कार्यक्रम प्रत्येक वर्ष पालन गर्नुपर्ने मुख्यमन्त्रीले सुझाउ दिए।
राज्यका सबै जातिय संगठनलाई सरकारले सहयोग पुऱ्याउँदै आएको र एसकेएम पार्टी सरकारमा आएपछि जाति फुटाउने काम नगरेर सबैलाई एकताको सुत्रमा बाँध्ने काम गरेको उनले किटान गरे। अनुसूचित जातिको निम्ति सरकारले 6 प्रतिशत आरक्षण गरेको छ भने यसलाई सात प्रतिशत बनाउनको निम्ति पहल गर्ने विश्वास दिलाए। मुख्यमन्त्री विवेकाधीन कोषवाट अनुसूचित जातिका 20 जना नानीहरूलाई पढाउने पनि उनले घोषणा गरे। सिक्किम विधानसभाको सीट आरक्षणमा वृद्धि गर्ने संघद्वारा राखिएको मागलाई आगामी 2026 मा सीमाङ्कनपछि यसबारेमा केन्द्र सरकारसँग पनि कुरा गर्ने उनले आश्वासन दिए।
मुख्यमन्त्रीले अनुसूचित जातिका महान व्यक्तिहरूलाई पुस्तकमा समावेश गर्ने पनि जानकारी गराए। एसकेएम पार्टीको दोस्रो सरकारको कार्यकालमा थाँतीमा रहेका सबै काम गरिदिने उनले वचन दिए।
यस अवसरमा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती, मन्त्री केएन लेप्चा, मन्त्री सञ्जीत खरेल, मन्त्री एमएन शेर्पा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
