गान्तोक, भारतीय जनता पार्टी (भाजपा) सिक्किमको चुनाउ व्यवस्थापन समितिको बैठक आज राजधानीको शहर कार्यालयमा बस्यो। चुनाउ व्यवस्थापन समिति (ईएमसी) का संयोजक कर्म पी. भोटियाको अध्यक्षतामा बसेको बैठकमा ईएमसीका सह संयोजक दिनेशचन्द्र नेपाल, महासचिवद्वय भरत दुलाल र अर्जुन राई लगायत पार्टीका पदाधिकारीहरू, मोर्चा कार्यकारिणी, जिल्ला अध्यक्षहरू र सदस्यहरू उपस्थित थिए।
बैठकमा ईएमसीले व्यवस्थापन टोलीलाई अन्तिम रूप दिॅंदै निर्वाचन अभियानलाई सुचारू रूपले सञ्चालन गर्न विभिन्न प्रभागहरूमा जिम्मेवारी सुम्पिएको छ। यो कदम आगामी चुनाउहरूको तयारीमा भाजपा सिक्किम टोलीका प्रयासहरूलाई व्यवस्थित अनि उजागर गर्न उठाइएको जानकारी प्रदेश भाजपाद्वारा जारी एक विज्ञप्तिमा दिएको छ।
तोकिएका जिम्मेवारीहरूले सिक्किमका विभिन्न ठाउॅंहरूमा प्रभावकारी समन्वय र अभियान रणनीतिहरूको कार्यान्वयन सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ। एक समर्पित प्रबन्धन टोलीको स्थापना गरेर भाजपा सिक्किमले मतदाताहरूका आवश्यकता र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा राज्यको विकासका लागि आफ्नो लक्ष्यलाई बढावा दिने लक्ष्य राखेको छ।
समितिका सदस्यहरू मतदाताहरूसँग जोडिएर पार्टीको समर्थन जुटाउन तथा भाजपाका एजेन्डा र नीतिहरू सञ्चार गर्न सक्रिय रूपमा काम गर्न प्रतिबद्ध रहेको बताइएको छ। रणनीतिक योजना र समन्वित प्रयासहरू मार्फत भाजपा सिक्किमको चुनाउ व्यवस्थापन समिति आगामी चुनाउमा सार्थक प्रभाव पार्न र सिक्किममा सकारात्मक परिवर्तनका लागि अधिकार सुरक्षित गर्न तयार रहेको दाबी विज्ञप्तिमा गरिएको छ।
