गुवाहाटी (असम)। बोडोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी)- का मुख्य कार्यकारी सदस्य प्रमोद बोड़ोले भनेका छन्, हग्रामा महिलारीका गल्तीहरूले गर्दा नब कुमार शरणिया कोकराझारबाट दुईपटक सांसद भए। उनले भने, गुवाहाटी उच्च न्यायालयद्वारा उनको एसटी सर्टिफिकेटलाई अवैध ठहर गरिएको छ। कानून अनुसार उनीविरूद्ध कारबाही भइरहनेछ।
प्रमोद बोड़ोले आज भारत-भुटान सीमास्थित हाथीचर क्षेत्रमा आयोजित एक चुनावी कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए। उनले भने, कोकराझाड़बाट एनडीए तथा यूपीपीएलका प्रत्याशी जयन्त बासुमतारी भारी मतले विजय हुनेछन्। बोडोल्याण्ड र असम मात्र नभएर देशभरिबाटै मानिसहरू भाजपा तथा एनडीएमा सामेल भइरहेको छ।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको कुशल नेतृत्वमा देश अनि राज्यको विकास भइरहेकै कारण सबै मानिसहरू एकजुट भएर नरेन्द्र मोदीलाई समर्थन गरिरहेका छन्। उनले भने, बोडोल्याण्डमा बहाल भएको शान्तिको कारणले आज बोडोल्याण्डको चिरांग जिल्लाले लगातार दोस्रो पटक म्याट्रिक परीक्षामा राज्यभरिमै प्रथम स्थान ओगटिरहेको छ। उनले भने, आज परिवेश राम्रो भएको छ, यसैले विद्यार्थीहरूले पनि राम्ररी पढ़िरहेका छन्, किसानहरूले राम्ररी खेती गरिरहेका छन्। सबैले आ-आफ्नो काम सही ढंगमा गरिरहेका छन्।
एक प्रश्नको उत्तरमा उनले भने, कुनै पनि जाति वा धर्मका मानिसहरूसित कुनै भेदभाव गरिएको छैन। सबैलाई शान्तिपूर्वक बस्ने, काम गर्ने तथा सुविधाहरू प्राप्त गर्ने अधिकार दिइएको छ। उनले भने, आज सबैले मिलेर एक सुन्दर, शान्तिपूर्ण तथा प्रगतिशील बोडोल्याण्ड बनाउनको लागि कार्य गरिरहेका छन्। यस अवधि बीटीसी प्रमुखले पत्रकारहरूका अन्य प्रश्नहरूको पनि सोझो उत्तर दिए।
