दार्जीलिङ, 19 अक्टोबर (। बन्द चिया बगानका श्रमिकहरूलाई श्रमिक राहत कोषबाट तीन-तीन हजार रूपियाँको दरले वितरण गरिदिने अनुरोध गर्दै सभासद अजय एडवाडर्सले जीटीए चिफ अनित थापालाई पत्र लेखेका छन्। दार्जीलिङ पहाडका चारवटा चिया बगानहरू गत धेरै दिन अघिदेखि बन्द रहेका छन्। दशैंमा बन्द चिया बगानका श्रमिकहरूलाई समस्या हुने विषयलाई ध्यानमा राख्दै एडवाडर्सले अनित थापालाई पत्राचार गरेका छन्।
सभासद एडवाडर्सले आफ्नो पत्रमा गत कोरोना संक्रमणकालमा जीटीएले चिया श्रमिकहरूलाई आर्थिक सहयोग पुऱ्याउने संकल्प लिॅंदै जीटीए चेयरम्यान रिलिफ फ्रण्ड संग्रह गरेको बताएको छ। जीटीए चेयरम्यान रिलिफ फ्रण्डमा दुई करोड रूपियाँभन्दा धेरै अर्थ संग्रह भएको छ भन्दै उनले उक्त संग्रह भएको राशि बन्द चिया बगानका श्रमिकहरूलाई प्रदान गर्न आग्रह गरेका छन्।
बन्द चिया बगानहरूमा मुण्ठाकोठी, रम्बुक सिर्डर, चुङथुङ, अम्बोटिया, मंगरजुङ र पेशोक रहेका छन् भने यी चिया बगानहरूमा जम्मा 4310 श्रमिकहरू कार्यरत रहेका छन्। उनले यी श्रमिकहरूले पूजा बोनस पाउने छाँट नदेखेको बताउॅंदै जीटीए चेयरम्यान रिलिफ फण्डबाट 3-3 हजार रूपियाँ प्रदान गर्न अनुरोध गर्दै पत्रचार गरेका छन्।
