गान्तोक, 30 अक्टोबर : सिक्किम खादी बोर्डकी चेयरपर्सन छुङ छुङ भोटियाले सोमवार बिहान राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित ‘रन फर युनिटी’ लाई झण्डा देखाएर शुरूवात गरिन्। एमजी मार्ग छेउ टाइटेनिक पार्कबाट शुरू भएको दौड पाल्जोर स्टेडियममा पुगेर समापन भएको थियो।
उक्त दौडको आयोजना खेलकुद तथा युवा मामिला विभागले गृह विभाग, सिक्किम सरकारको सहयोगमा गरेको थियो। ‘रन फर युनिटी’ एक लोकप्रिय वार्षिक कार्यक्रम हो जहाँ सबै उमेर समूहका मानिसहरू एकता र अखण्डताको भावना मनाउन सहभागी हुन्छन्।
यो दौड राष्ट्रको एकीकरणको प्रतीक हो। देशका एक प्रमुख नेता वल्लभभाई झवेरभाई पटेल, जसलाई सरदार वल्लभभाई पटेल भनेर चिनिन्छ, लाई श्रद्धाञ्जलि अर्पण गर्न सो कार्यक्रम आयोजना गरिएको हो। दौडमा विद्यार्थी लगायत 100 जनाभन्दा बढी धावक सहभागी थिए।
कार्यक्रममा आईपीआर विभागकी सचिव कर्मा डी. युत्सो, खेलकुछ विभागको कोच डिभिजनका संयुक्त निर्देशक जिग्मी वाई. लेप्चा तथा गृह विभाग र खेलकुद विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।
