– गोर्खाहरूलाई जनजातिको मन्यता दिने केन्द्रसॅंग इच्छाशक्ति छैनः रतन थापा
खरसाङ, 12 फरवरी: केन्द्रको भाजपा सरकारले गोर्खाहरूको जनजाति मान्यता मुद्दालाई अवहेलना गरेर पार नलगाएको आरोप लगाउॅंदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहाड़भरि विरोध प्रदर्शन शुरु गरेको छ। यसै क्रममा आज खरसाङको महकुमा शासक कार्यालयअघि पनि भागोप्रमो खरसाङ महकुमा समितिको आयोजनामा केन्द्र सरकार विरूद्ध धरना प्रदर्शन गऱ्यो।
पार्टीको कार्यकर्ताहरूले हातमा विभिन्न प्ला कार्डहरू लिएर विरोध प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनलाई भागोप्रमो खरसाङ टाउन कमिटीको कार्यकारी सचिव बीरबल पाख्रीन, पञ्चायत समिति सदस्यद्वय सुमन लामा र मौसम तामाङ, युवा शक्तिबाट विज्ञान मिश्र, भागोप्रमो केन्द्रिय सदस्य एवं तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री र भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान आदिले सम्बोधन गरेका थिए।
उक्त धरना प्रदर्शनपछि भागोप्रमो केन्द्रिय सांगठनिक सचिव एवं कार्यकारी सभासद रतन थापाको अगुवाईमा खरसाङ महकुमा शासकमार्फत् देशको प्रधानमन्त्रीलाई गोर्खाहरूका छुटेका 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिनुपर्छ भन्ने माग गर्दै पत्र प्रेषित गरियो।
धरना प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रिय सांगठनिक सचिव एवं कार्यकारी सभासद रतन थापाले यसपालीको बजेट सत्रमा गोर्खाहरूले 11 जनजातिको मान्यता पाउँछ भन्ने आशा राखेको, तर संसदको अन्तिम दिन 10 फरवरीको दिनसम्म पनि केही नभएपछि आजदेखि भागोप्रमोले पहाड़भरि केन्द्र सरकार विरूद्ध विरोध प्रदर्शन शुरु गरेको बताए।
उनले भने, भागोप्रमोले दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकमा विरोध प्रदर्शन गरिरहेको छ। सोही अनुरुप खरसाङको महकुमा शासक कार्यालयअघि पनि विरोध प्रदर्शन गरिएको हो। गोर्खाहरूले न्यायको पाउने आशामा 2009, 2014 र 2019 मा बहुमतले भाजपा सांसदहरूलाई विजय बनाएको थियो, तर अहिलेसम्म गोर्खाहरूले न्याय पाउन सकेको छैन। उनले यो धरना लगातार रूपमा तीन दिनसम्म चल्ने बताए।
