मुम्बई, 29 अक्टोबर : महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले भनेका छन्, सरकार मराठा समाजलाई आरक्षण दिनका लागि कटिबद्ध छ। हामी कुनै पनि मूल्यमा मराठा समाजलाई आरक्षण दिनेछौं। मराठा समाजका मानिसहरूले सरकारमाथि पूर्ण भरोसा राखुन्।
मराठा आरक्षणलाई लिएर आन्दोलनकारीहरूको विरोधबाट बच्नका लागि मुख्यमन्त्री शिन्दे गए शनिवार अबेर राती कोल्हापुर जिल्लाको कनेरी मठमा सिरवाचल पशुपालन केन्द्रको उद्घाटन गर्न आएका थिए। कार्यक्रमपछि मुख्यमन्त्री शिन्देले पत्रकारहरू समक्ष भने, सरकारले मराठा समुदायलाई न्याय दिनेछ। मराठा समाजले सरकारको प्रयासलाई बुझ्ने चेष्टा गरोस् साथै युवकहरूलाई आक्रमक हुन नदेओस्। उनी मनोज जराङ्गे पाटिलको स्वास्थ्यलाई लिएर चिन्तित छन् जो मराठा आरक्षणको मागमा जालना जिल्लामा पुनः भोक हड़तालमा बसेका छन्।
मुख्यमन्त्री शिन्देले भने, मराठा समाजलाई पहिला दिइएको आरक्षण सुप्रीम कोर्टमा टिक्न सकेन। सुप्रीम कोर्टले बताएका त्रुटीहरूलाई सच्याउने काम अहिले भइरहेको छ। मराठा समाज पछाड़िएको छ। कुनबी दस्तावेज जारी गर्नको लागि नियुक्ति गरिएको न्यायमूर्ति शिन्दे समितिले उत्कृष्ट काम गरिरहेको छ। अहिलेसम्ममा आठदेखि दश हजार पुरानो रेकर्ड खोजिसकिएको छ। हैदराबाद गएर पनि रेकर्ड जाँच गरिँदैछ। यी सबै काममा समय लाग्नेछ। यसैले मराठा समाजले धैर्य राख्नुपर्छ। युवाहरूले आत्महत्या जस्तो कदम उठाउनु हुँदैन। जाराङ्गे पाटिलले पनि अपील गरेका छन् कि मामिलालाई हावा दिनु हुँदैन।
मुख्यमन्त्रीको कोल्हापुर दौड़ाहलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले गम्भीर सतर्कता अप्नाएको थियो। हवाईअड्डादेखि कनेरी मठसम्म सुरक्षाको कड़ा बन्दोबस्त गरिएको थियो। यहाँसम्म कि सुरक्षामा तैनाथ कतिपय पुलिस अधिकारीहरूलाई समेत थाहा थिएन कि को आइरहेका छन्। तर अबेर राती एकनाथ शिन्दे मठमा आइपुगेको खबर पाउनसाथ मराठा समाज आक्रमक भयो अनि कार्यक्रम स्थलमा आउने प्रयास गर्नथाल्यो। पुलिसले सबै आन्दोलनकारीहरूलाई समातेर राजाराम पुलिस स्टेशनमा थुनिदियो। आइतवार भोर बिहान लगभग तीन बजे मुख्यमन्त्री कोल्हापुरदेखि मुम्बई प्रस्थान भएपछि सबै मराठा आन्दोलनकारीहरूलाई छोड़िदियो।
