कोलकाता, 29 फरवरी : लोकसभा चुनाउको तयारी देशभरि नै शुरू भएको छ। चुनाउ आयोगका एकजना अधिकारीले बताएका छन्, पश्चिम बंगालमा केन्द्रिय बलहरूलाई मार्च महिनादेखिकै तैनाथ गरिनेछ। दुई चरण गरी केन्द्रिय बलहरूका 150 कम्पनी यहाँ आउने आशा छ। पहिलो चरणमा आउने 100 कम्पनीमध्ये कुन जिल्लामा कति कम्पनी तैनाथ गर्नुपर्ने हो ती सबै चुनाउ आयोगले निर्धारण गरिसकेको छ।
आयोगको सूत्र अनुसार केन्द्रिय बलहरूलाई जिल्ला, पुलिस जिल्ला औ कमिश्नरेट क्षेत्रगत रूपमा तैनाथ गरिनेछ। पहिलो चरणमा सात कम्पनी फोर्स कोलकाता आइरहेको छ। विपक्षी नेता शुभेन्दु अधिकारीको जिल्ला पूर्वी मिदनापुरमा पाँच कम्पनी फोर्सलाई तैनाथ गरिनेछ। बशिरहाट पुलिस जिल्लामा तीन कम्पनीलाई तैनाथ गरिनेछ। यसै बशिरहाटभित्र सन्देशखाली पनि पर्दछ। मार्च महिनामा दुई कम्पनी केन्द्रिय बललाई तैनाथ गरिनेछ भने एक अतिरिक्त कम्पनीका जवानहरूलाई आउनसाथ तैनाथ गरिनेछ।
कुन ठाउँमा कति केन्द्रिय बलहरूलाई तैनाथ गर्नुपर्छ त्यसलाई लिएर राज्यका मुख्य निर्वाचन पदाधिकारी आरिज आफताब, राज्य पुलिसका नोडल अधिकारी आनन्द कुमार, सीआरपीएफका आईजी बीके शर्मा अनि आयोगका अन्य अधिकारीहरूले गए बुधवार बैठक गरी फसेला लिसकेका छन्।
उल्लेखनीय छ, चुनाउ आयोगको पूर्ण पीठ आगामी 4 मार्चमा बंगाल आइरहेको छ। यहाँ आएपछि पीठले 5 मार्चमा सबै राजनीतिक दल अनि पुलिस प्रशासनसित बैठक गर्नेछ। सूत्र अनुसार बैठकमा चुनाउ आयोगको पीठले संवेदनशील बूथहरूको बारेमा जानकारी लिनेछ।
