गान्तोक, 18 अगस्त (हि.स.)। तिमी–नाम्फिङ निर्वाचन क्षेत्र अन्तर्गत 28 घरधुरी सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किममा सामेल भएको दाबी गरिएको छ। उनीहरू सीएपीको अनुशासन, नीति–सिद्धान्त, र सिक्किम तथा सिक्किमेलीहरूको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै पार्टीमा सामेल भएको प्रचार सचिव जिग्मी भोटियाले आज प्रेस विज्ञप्तिमा बताएका छन्।
यसरी नै सिक्किमका विभिन्न निर्वाचन क्षेत्रहरूबाट अन्य राजनीतिक दल परित्याग गरी 14 जना कर्मठ युवाहरू पनि आज सीएपीमा सामेल भएको बताइएको छ। नयाँ सदस्यहरूलाई पार्टी अध्यक्ष गणेश राईले खदा लगाइदिएर स्वागत जनाए।
अध्यक्ष राईले आफ्नो सम्बोधनमा भने, ‘आजको सरकार केही सीमित व्यक्तिहरूको स्वार्थमा मात्र केन्द्रित भएको छ। करिब 20 हजार करोड रूपियाँ विभिन्न आर्थिक निकायहरूबाट सिक्किमको नाममा ऋण लिइएको छ, तर त्यो रकम आम जनताको हितमा नभई विपक्षी नेताहरू किन्न प्रयोग भइरहेको छ। सत्तारूढ दललाई जनताको भविष्यप्रति कुनै चिन्ता छैन। तर, सिटिजन एक्सन पार्टी सचेत र गम्भीर छ।’
सीएपी सिक्किमले भ्रष्टाचारविरुद्ध, पारदर्शिता र जनहितमा आधारित सुशासन स्थापना गर्ने अठोट दोहोऱ्याएको छ। सीएपीले सिक्किम र सिक्किमेली जनताको सुरक्षित भविष्यको निम्ति उच्चतम साहस र समर्पण सहितको प्रतिबद्धता जाहेर गर्दै सपूर्ण सिक्किमेली नागरिकलाई एकजुट भएर अघि आउन आह्वान पनि गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल
