गेजिङ, 07 जुलाई (हि.स.)। योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक एवं राज्य पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी. भोटियाले आज क्षेत्रको थिङलिङ खेचीपेरी जीपीयूमा सरकारी विद्यालय, आईसीडीएस केन्द्रहरू र सार्वजनिक पूर्वाधारहरूको निरीक्षण भ्रमण गरे। मन्त्रीको साथमा ग्राम पञ्चायत सदस्यहरू र स्थानीय युवा प्रतिनिधिहरू पनि उपस्थित थिए।
मन्त्री भोटियाले आफ्नो भ्रमणको शुरुवात छोजो गाउॅंमा स्थानीय सरकारी प्राथमिक पाठशालाबाट गरे। उनले पाठशालाका कर्मचारीहरूसॅंग अन्तरक्रिया गर्दै पाठशालाको तत्काल आवश्यकताहरूको बारेमा जानकारी लिए। उनले पाठशालाको दयनीय अवस्थाको बारेमा थाहा पाएपछि मरम्मतिका लागि चॉंडोभन्दा चॉंडो सहयोग गर्ने आश्वासन दिए।
यसपछि, उनले आईसीडीएस केन्द्रको भ्रमण गरेर केन्द्रको कामकाज, पूर्वाधार र सेवा वितरणको बारेमा जानकारी लिए। यसैगरी, उनले पर्यटन एवं नागरिक उड्डयन विभाग अन्तर्गत मेगा होम स्टे परियोजना अन्तर्गत निर्माणाधीन होम स्टेको पनि निरीक्षण गरे। मन्त्रीले होमस्टे परियोजनाले मुख्यमन्त्री प्रेमसिंह तामाङले परिकल्पना गरेको दिगो ग्रामीण पर्यटनको मापदण्ड र दृष्टिकोणलाई प्रतिबिम्बित गर्नुपर्छ भनी बताए।
यस अतिरिक्त, उनले खेचीपेरी र योक्सम गाउॅंका स्थानीय मानिसहरूसॅंग पनि भेट गरेर अन्तरक्रिया गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल
