– भारतीय रेलवे सहित राज्य सरकारका पाँच विभागको विकास कार्य सामेल
गान्धीनगर, 29 अक्टोबर : प्रधानमन्त्री नरेन्द्र मोदीले 30 अक्टोबरमा गुजरातको मेहसाणा जिल्ला अन्तर्गत डाभोड़ा गाउँमा 5941 करोड़ रुपियाँका विभिन्न विकास परियोजनाहरूको लोकार्पण एवं शिलान्यास गर्नेछन्। यसमा भारतीय रेल, गुजरात रेल इम्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन (जीआरआईडीई), जल संसाधन विभाग, जलापूर्ति विभाग, सड़क एवं आवास विभाग तथा शहरी विकास विभागको विकास कार्य सामेल छ।
यो कार्यक्रम डाभोड़ा गाउँमा बिहान 11 बजेदेखि आरम्भ हुनेछ। गुजरातका सात जिल्ला क्रमैले मेहसाणा, अहमदाबाद, बनासकाँठा, साबरकाँठा, महिसागर, गान्धीनगर औ पाटणलाई विकास कार्यहरूको लाभ प्राप्त हुनेछ। यी सबै जिल्लाले पाउने 16 विकास परियोजनाहरूमध्ये 8-को लोकार्पण र 8-को शिलान्यास गरिनेछ।
रेलवे विभाग औ जीआरआईडीई
मेहसाणा र अहमदाबादमा रेलवे विभागका दुईवटा विकास कार्य लोकार्पणको लागि तयार छन्। मेहसाणामा न्यू भाँडूदेखि न्यू साणंदसम्म माल ढुवानी कोरिडोर, 77 किलोमीटरको इलेक्ट्रिफाइड डबल लाइनसितै 24 किमी लामो कनेक्टिङ्ग लाइनको लोकार्पण गरिनेछ। वीरमगामदेखि सामखियालीसम्म 182 किमी लामो रेल लाइनको दोहरीकरण कार्यको लोकार्पण पनि प्रधानमन्त्रीले गर्नेछन्। यो लाइनले अहमदाबाद, सुरेन्द्रनगर, मोरबी र राजकोट जिल्लालाई कभर गर्नेछ।
यस अतिरिक्त गुजरात रेल इम्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशनद्वारा मेहसाणा कटोसण-बेचराजीबीच 29.65 किमीको रेलवे प्रोजेक्टको पनि लोकार्पण गरिनेछ। यस प्रोजेक्टबाट माण्डल-बेचराजी विशेष निवेश क्षेत्र (एसआईआर-सर)-मा कार्यरत कम्पनीहरू लाभान्वित हुनेछन्। रेलवे र जीआरआईडीईका यी परियोजनाहरूको लागत 5126 करोड़ रुपियाँ रहेको छ।
जल संसाधन विभाग
मेहसाणा जिल्लामा विजापुर तथा माणसा खण्डको डेल्टा क्षेत्रमा विभिन्न तालहरूको रिचार्ज कार्य अनि साबरमती नदीमाथि वालासणा बैराजको निर्माण कार्यको लोकार्पण गरिनेछ। यी दुवै परियोजनाको लागत 130 करोड़ रुपियाँ रहेको छ। यस अतिरिक्त महिसागर जिल्लामा पानम जलाशय आधारित उद्वहन सिंचाई (लिफ्ट इरिगेशन) प्रोजेक्टको शिलान्यास गरिनेछ जसले सन्तरामपुर खण्डका विभिन्न तालहरूलाई जोड़्नेछ। यस प्रोजेक्टको लागत 139 करोड़ रुपियाँ छ।
जलापूर्ति विभाग
बनासकाँठामा जलापूर्ति विभागका तीनवटा विकास परियोजनाहरूको लोकार्पण गरिनेछ भने मेहसाणामा एउटा परियोजनाको शिलान्यास गरिनेछ। यसको साथै धरोई बाँध आधारित 80 एमएलडी क्षमता भएको जल शुद्धिकरण संयन्त्रको लोकार्पण तथा मेहसाणामा धरोई अग्मेन्टेशन पार्ट-2 को कार्यको शिलान्यास गरिनेछ। यी चारैवटा परियोजनाहरूको कुल लागत 212 करोड़ रुपियाँ रहेको छ।
सड़क एवं आवास विभाग
साबरकाँठामा नरोड़ा-देहगाम-हरसोल-धनसुरा सड़कलाई फोरलेन बनाउने कार्यको शिलान्यास गरिनेछ जसको लागत 166 करोड़ रुपियाँ छ।
शहरी विकास विभाग
शहरी विकास विभागद्वारा गान्धीनगर, पाटण, बनासकाँठा, साबरकाँठा औ मेहसाणा जिल्लामा विभिन्न परियोजनाहरूको शिलान्यास गरिनेछ। यी सबै परियोजनाहरूको कुल लागत 168 करोड़ रुपियाँ छ।
