कोलकाता, पश्चिम बंगालमा तीन लोकसभा सीटको निम्ति शुक्रवार चलिरहेको मतदान अवधि कूचबिहार लोकसभा क्षेत्रमा हिंसाको घटना भएको छ। जलपाइगढी लोकसभा क्षेत्रबाट पनि हिंसाका केही मामिला अघि आएका छन्। तर, अलीपुरद्वारबाट चुनाउ सम्बन्धी हिंसाको कुनै रिपोर्ट आएको छैन।
हिंसाको सबैभन्दा धेरै खबर कूचबिहारको चन्दामारी क्षेत्रबाट अघि आइरहेको छ। भाजपाको बूथ अध्यक्ष लोक सरकारमाथि हमलालाई लिएर तनाउ बढेको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ र उनलाई अस्पतालमा भर्ती गरिएको छ। यसरी नै भाजपा र तृणमूल कार्यकर्ताहरूबिच ढुङ्गा हानाहानपछि एक तृणमूल कांग्रेस कार्यकर्ताको टाउकोमा गम्भीर चोट लागेको छ।
राजाखोरा क्षेत्र र कूचबिहार शहरबाट तनाउका समाचारहरू आइरहेका छन्। यस क्षेत्रमा सत्तारूढ र विपक्षी पार्टीका कार्यकर्ताहरूबिच झडप भएको छ, जसपछि तृणमूल कांग्रेस र भाजपा दुवैको कार्यालयहरूमा तोडफोड गरिएको छ।
कूचबिहारको सीतलकुचीमा तृणमूल कांग्रेसको एउटा अस्थायी पार्टी कार्यालयलाई कथित रूपमा भाजपा समर्थकहरूले आगो लगाइदिएका छन्। यसरी नै जलपाइगढी लोकसभा क्षेत्र अन्तर्गत डाबग्राम-फुलबारी क्षेत्रमा त्यस समय तनाउ फैलियो जब भाजपाको एउटा बूथ कार्यालयलाई कथित रूपमा तृणमूल कांग्रेस कार्यकर्ताहरूले पूर्णरूपमा नष्ट गरिदिए।
