नयॉं दिल्ली, 12 फरवरी : भारतलाई एकपल्ट फेरि ठूलो कूटनीतिक जित प्राप्त भएको छ। कतरको जेलमा बन्द भारतीय नौसेनाका सबै आठ पूर्व नौ सैनिकहरूलाई मुक्त गरिएको छ, जसमा सात नौ सैनिक फर्किसकेका छन्। विदेश मन्त्रालयले जारी गरेको बयानमा उक्त जानकारी दिइएको छ।
यी आठ पूर्व नौसैनिक जासूसीको आरोपमा कतरको जेलमा बन्द थिए। अदालतले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। यसपछि भारतको निम्ति उनीहरूलाई मुक्त गर्ने पहल ठूलो चुनौती बनेको थियो। भारतको अनुरोधमा कतरका अमीरले अगावै यी नौसैनिकहरूको सजायलाई घटाएर जन्मकैदमा परिवर्तित गरेको थियो। अमीरको आदेशमा यी पूर्व नौसैनिकहरूलाई मुक्त गरिएको छ भने भारतले यसलाई स्वागत जनाएको छ।
विदेश मन्त्रालयको आधिकारिक बयानमा भनिएको छ, ‘भारत सरकार कतरमा हिरासतमा लिइएका अल-दहरा ग्लोबल कम्पनीको निम्ति काम गर्ने आठ भारतीय नागरिकहरूको रिहाईको स्वागत गर्दछ। उनीहरू मध्ये सात भारतीय सुरक्षित भारत फर्किएका छन्। हामी यी नागरिकहरूको रिहाई र घर वापसी सुनिश्चित गर्ने कतरका अमीरको निर्णयको सराहना गर्दछौ।’
उल्लेख्य, कतरको जेलमा बन्द यी आठ भारतीय नागरिक पहिला नौसेनामा काम गर्थे। उनीहरूमाथि कथित रूपमा कतरको सबमरीन प्रोग्रामको जासूसी गरेको आरोप लागेपछि अक्टोबर 2022 देखि नै कतरको जेलमा बन्द थिए।
