खरसाङ, आगामी लोकसभा चुनाउलाई ध्यानमा राखेर खरसाङ महकुमा प्रशासन र सूचना एवं सांस्कृतिक विभाग खरसाङको तर्फबाट चुनाउ सम्बन्धमा लगातार सचेतना कार्यक्रम आयोजना भइरहेको छ। यसै क्रममा खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर चुनाउ र मतदान विषयमा सचेतना कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा विद्यार्थीहरूलाई लाइनमा राखेर मतदान प्रक्रिया विषयमा जानकारी गराइयो भने मतदान कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारीसहित सचेतना गराइएको छ। कार्यक्रममा सन्त अल्फन्सेस विद्यालयका विद्यार्थीहरूले लोकसभा चुनाउ विषयमा सचेतना गराउन रचिएको सचेतनामूलक गीत पनि प्रस्तुत गरेका थिए।
कार्यक्रममा खरसाङको डेपुटी म्याजिस्ट्रेट कैलास प्रसाद, देवज्योति बराल, लाडेन लेप्चा लगायत अन्यहरू उपस्थित रहेका थिए। खरसाङ महकुमा प्रशासनको पक्षबाट अधिकारीहरूले चुनाउ र मतदान विषयमा जानकारी गराएका थिए।
यसै अवसरमा खरसाङ महकुमा शासक कार्यालयका कर्मचारीहरूले भीभीप्याड विषयमा पनि सचेतना गराएका थिए। विशेष गरी चियाबारी र गाउँ बस्तीका अभिभावकहरूलाई चुनाउ र मतदान विषयमा सचेत गराउन विद्यार्थीहरूलाई सचेत गराइएको हो। यस प्रकारका कार्यक्रम खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूमा आयोजना गरिरहेको सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट जानकारी प्राप्त भएको छ।
