पाकिम, फरवरी : पाकिम जिल्ला अन्तर्गत रम्फू खेल मैदानमा भोलि (बिहिवार) आयोजन हुने युवा भरोसा सम्मेलनलाई लिएर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा प्रकोष्ठ तथा विद्यार्थी प्रकोष्ठको संयुक्ततामा आज कार्यक्रमस्थलमै एक विशेष बैठक बस्यो।
लोकसभा सांसद इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव एवं एसकेएम पार्टी प्रवक्ता जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव एवं पार्टीको प्रचार-प्रसार मुख्य समन्वयक विकास बस्नेत, पार्टीको युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तानलगायत अन्य शीर्ष पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकमा मुख्यमन्त्रीको आदेश अनुरुप भोलि गरिनुपर्ने विभिन्न कार्यबारे चर्चा गरियो।
एसकेएम पार्टीकी प्रचार सचिव रञ्जना प्रधानद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, भोलि कार्मिक विभागद्वारा आयोजन गरिने युवा भरोसा सम्मेलनमा पार्टीको युवा प्रकोष्ठ र विद्यार्थी प्रकोष्ठले स्वयंसेवकको रूपमा काम गर्नुपर्ने मुख्यमन्त्रीको आदेश भएकोले दुवै प्रकोष्ठले आज विभिन्न कामको बाँड़फाँड़ गरेको छ। 32 वटै निर्वाचन क्षेत्रबाट पार्टीको युवा प्रकोष्ठका संयोजकहरूले उपस्थिति दिएको बैठकमा पार्टीको युवा अनि विद्यार्थी प्रकोष्ठका सदस्यहरूले स्वयंसेवकको रूपमा रहेर कार्मिक विभाग, पुलिस विभाग र मुख्यमन्त्री कार्यालयलाई सहयोग पुऱ्याउने निर्णय गरिएको छ।
विज्ञप्तिमा अझ भनिएको छ, युवा भरोसा सम्मेलन मार्फत् भोलि राज्यका 15 हजारभन्दा बढ़ी बेरोजगार युवा-युवतीले रोजगार प्राप्त गर्नेछन् भने 25 हजारभन्दा बढ़ी अस्थायी कर्मचारीले स्थायी आदेश प्राप्त गर्नेछन्। यद्यपि, कतिपय कर्मचारीको नाम स्थायीकरणमा छुटेको भए त्यसमा पनि सरकारले काम गर्ने मुख्यमन्त्रीले वचन दिएको कुरालाई बैठकमा अवगत गराइएको छ।
