खरसाङ, 06 फरवरी। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज खरसाङमा आईटी पार्कको शिलान्यास गरेका छन्। खरसाङको लभ रोडस्थित पुरानो पार्किङ स्ट्याण्डमा आज जीटीए चिफ् अनित थापाले खरसाङ आईटी पार्कको शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा सौम्य पुरकेत, मुख्य सचिव, जीटीए, दार्जीलिङ जिल्लापाल, दार्जीलिङ जिल्ला पुलिस अधीक्षक, अतिरिक्त एसपी लगायत अन्य गणमन्य व्यक्तिहरू उपस्थित थिए।
आईटी पार्क 48 करोडको लागतमा निर्माण हुनेछ। वर्तमान 28 करोड राज्यले अनुमोदन गरिसकेको छ। आगामी दुई वर्षभित्रमा निर्माण कार्य पूर्ण हुने बताइएको छ। खरसाङ आईटी पार्क, खरसाङ शहरलाई स्मार्ट शहर बनाउने परियोजनाहरूमध्ये एक नयाँ योजना हो। आईटी सम्बन्धित सुविधाबाहेक यस पार्कमा फुटसल ग्राउण्ड, ब्याडमिन्टन कोर्ट, फुड कोर्टको सुविधा पनि रहनेछ।
आईटी पार्कले खरसाङलाई हुने फाइद हुने विषयमा दार्जीलिङ जिल्ला एसपी, खरसाङ महकुमा शासक साथै वेबडेलका अधिकारीहरुले आफ्नो सम्बोधनमा राखेका थिए। उनीहरूले बताए अनुसार, आईटी पार्क व्यापार केन्द्र बनिने छ। विभिन्न कम्पनीहरूले यहाँ आफ्नो कार्यालय शुरु गर्नेछन्। शिक्षित र कौशल भएका युवाहरुको निम्ति रोजगार खुलिने छ। खेलकूदमा रुचि राख्नेहरूलाई फुटसल ग्राउण्ड साथै ब्याडमिन्टन कोर्ट उपलब्ध हुनेछ। पहाडका विद्यार्थीहरुलाई आईटी सेक्टरप्रति आकर्षित गर्नेछ।
जीटीए चिफ् अनित थापाले आईटी पार्कसँगै खरसाङमा 200 बेडको नयाँ खरसाङ अस्पतालको निर्माण हुने घोषणा गरे। उनले भने, “मैले कोभिडको समय काम गर्दा थाहा पाए कि राम्रो वातावरणको कारण पनि रोगी चाँडो निको हुँदो रहेछ। त्यसैले आगामी बनिने खरसाङ अस्पताल ब्रिटिस मोडलमा बनाइने छ।“
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जीटीएका मुख्य सचिव सौम्य पुरकैतले भने, “खरसाङ आईटी पार्क पहाडको एन्ट्रेप्रेनरको निम्ति मात्र नभएर उत्तर बङ्गालकै एन्ट्रेप्रेनर अनि शिक्षित युवाको निम्ति वरदान हुनेछ। यो प्रोजेक्ट अनित थापाको भिजन अनि निरन्तर प्रयासको कारण सफल हुनु गएको हो।“
