कोलकाता, 1 फरवरी : ईडी अधिकारीहरूमाथि भएको आक्रमणका मास्टरमाइण्ड तृणमूल नेता शेख शाहजहाँलाई पक्राउ गर्न जुटेको बंगाल पुलिसको गुप्तचर तन्त्र असफल भइरहेको देखिएको छ। परिणामस्वरूप शाहजहाँले भूमिगत छँदाछँदै पनि लगातार आफ्ना वकिलसित भेटिरहेका छन् अनि आफ्नो जमानतको लागि उजुरी गरिरहेका छन्। तर यस सम्बन्धमा पुलिसले सुइँको समेच पाएको छैन।
कोलकाताको पीएमएलए कोर्टमा जमानत याचिका खारेज भएपछि अब तिनले उत्तर 24 परगना जिल्लाको बारासात कोर्टमा अग्रिम जमानतको लागि उजुरी गरेका छन् जसमाथि आगामी 26 फरवरीमा सुनवाई हुनेछ। यहां विशेष कुरा के हो भने शाहजहाँको पक्षबाट दुवै कोर्टमा जमानतको निम्ति याचिका दर्ता गराउने वकिलको वकालतनामा अनि आवेदनमा शाहजहाँले हस्ताक्षर गरेका छन्। यसबाट स्पष्ट हुन्छ, वकिलसित भेटेर तिनले हस्ताक्षर गरेका हुन्, तर पुलिसलाई यसको सुइँको पनि लागेन।
गत मङ्गलवार मात्र कोलकाताको विशेष पीएमएलए कोर्टले तिनको जमानत याचिकालाई खारेज गरिदिएको थियो साथै ईडीद्वारा कठोर कारबाहीको मागलाई पनि खारेज गरिदिएको थियो। यसको 24 घण्टाभित्रै तिनका वकिलले दोस्रो जमानत याचिका अर्को कोर्टमा दर्ता गराएका छन् जसले यसघड़ीमा पनि शाहजहाँ लगातार सक्रिय रहेको प्रमाण दिन्छ।
उल्लेखनीय छ, गत 5 जनवरीमा सन्देशखालीस्थित तिनको घरमा छापामारीको कारबाही गर्न पुगेका ईडीको टीममाथि लगभग एक हजार मानिसहरूले आक्रमण गरेका थिए। शाहजहाँले उक्साएकै कारणले ईडी टीममाथि आक्रमण भएको दाबी छ। त्यसपछि पनि तिनले भीडियो जारी गरेर ईडी अधिकारीहरूलाई धम्की दिरहे, मानिसहरू तिनको पक्षमा छन् यसैले तिनलाई डर लाग्दैन। घटना घटेको 27 दिन बितिसक्दा पनि पुलिसले शाहजहाँको बारेमा पत्तो लगाउन सकेको छैन जबकि तिनी सोशल मीडियामा लगातार सक्रिय रहनका साथै जमानतको निम्ति वकिलसित भेटेर हस्ताक्षर पनि गरिरहेका छन्।
