गान्तोक, 27 जनवरी । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमाथि सत्ताको आडमा अप्रजातान्त्रिक ढङ्गमा विपक्षी पार्टीका नेता र कार्यकर्ताहरूमाथि आक्रमण गर्दै आइरहेको आरोप लगाएको छ। एसडीएफ प्रवक्ता ज्याक ‘किराँत’ राईले आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाएका छन्।
प्रेस विज्ञप्तिमा जानकारी गराउॅंदै भनिएको छ, आज पश्चिम सिक्किम अप्पर माबोङमा एसडीएफ पार्टीको घर-दैलो कार्यक्रम गर्न एसकेएम पार्टी कार्यकर्ताहरूले अवरोध गरे। ‘सिक्किम बचाऔँ’ अभियानअन्तर्गत एसडीएफ पार्टीले घर-दैलो कार्यक्रम आयोजना गरी राज्यका सबै समष्टिका जनतासँग संवाद गरिरहेको छ। यही कार्यक्रमको चौथोँ दिनमा आज जुम सालघारी समष्टिको एसडीएफ पार्टी समष्टिस्तरीय कार्यकारिणी समितिको अगुवाइमा अप्पर माबोङ निस्किएका एसडीएफ सहयोद्धाहरूलाई एसकेएम पार्टी कार्यकर्ताहरूले अवरोध उत्पन्न गरे।
एसडीएफ पार्टीको निर्धारित घर-दैलो कार्यक्रम आज एसकेएम पार्टी कार्यकर्ताहरूको उदण्डताका कारण यस स्थानमा पूर्ण रूपले स्थगित गर्नुपऱ्यो भनी प्रेस विज्ञप्तिमा बताइएको छ। एसडीएफले यसलाई एसकेएम पार्टीको अमानवीय, अप्रातान्त्रिक र अराजक कृत्य ठहर गर्दै घोर भर्त्सना जनाएको छ।
एसडीएफले भनेको छ, लोकतन्त्रमा सबै राजनीतिक दलहरूले आफ्नो नीति-सिद्धान्तअनुरूप जनमुखी कार्यक्रमहरू आयोजना गर्न पाउँदछ। आफ्नो जनमुखी कार्यक्रमको प्रचार-प्रसार गर्ने स्वतन्त्रता हरेक राजनीतिक दललाई देशको संविधानले सुनिश्चित गरेको छ। यद्यपि एसकेएम पार्टीको अलोकतान्त्रिक र अराजक चरित्रका कारण राज्यको विपक्षी दलमाथि बारम्बार अतिक्रमण भइरहेको छ। यो अत्यन्त निन्दनीय कृत्य हो। एसडीएफ पार्टीले यस क्रियाकलापको कडा शब्दमा निन्दा गर्दै प्रशासनलाई यथाशीघ्र आवश्यक कार्वाहीको माग पनि गरेको छ।
