– स्वीटजरल्याण्डमा पाएकी हबलोडको बहुमूल्य घडी आइपुग्यो घर
खरसाङ, 04 जनवरी (हि.स.)। खरसाङको डाउहिल रोड निवासी बालकृष्ण थामी र पुष्प थामीकी कान्छी छोरी आकी थामीले गत केही महिनाअघि स्वीटजरल्याण्डमा भएको एक प्रतियोगितामा 6 वटा देशहरूमध्ये भारतको लागि सर्वश्रेष्ठ पुरस्कार जितेकी थिइन्। उक्त पुरस्कारमा पाएको हबलोडको बहुमूल्य घडी अहिले खरसाङ आइपुगेको छ।
आकी थामीले स्वीटजरल्याण्डमा 6 वटा देशका प्रतिभागीहरूलाई उछिन्दै हबलोड डिजाइन पुरस्कारद्वारा सम्मानित बनेकी थिइन्। उनले उक्त पुरस्कारमा ठूलो नगद राशिसहित हबलोडको बहुमूल्य घडी, स्वीटजरल्याण्डमा नै बनिएको अर्ग्यानिक महको डिब्बा, एक बक्सा हबलोडकै चकलेट, महको चाकाबाट बनिएको मैनबत्ती प्राप्त गरेकी थिइन्।
उक्त पुरस्कारमध्ये हबलोडको बहुमूल्य घडी घरकै माता पिताले ग्रहण गरून् भनी इच्छा राखेपछि स्वीटजरल्याण्डबाट दिल्ली हुँदै खरसाङ आइपुगेर माता पिताले प्राप्त गरेका छन्। उक्त हबलोडको बहूमूल्य घडीको भारतीय मूल्यमा लगभग चार लाख रूपियाँ रहेको माता पिताले बताएका छन्। उक्त घडी आज आकी थामीका माता पिताले मिडिया समक्ष प्रदर्शित गरे।
छोरी आकी थामीको सफलतामा पिता बालकृष्ण थामी र माता पुष्प थामीले खुशीले खुशी व्यक्त गर्दै कान्छी छोरी आकी थामीले आफ्नो परिवार मात्र होइन तर सम्पूर्ण गोर्खा समाज र देशलाई नै गौरवान्वित बनाएको बताए। छोरीको सफलतामा मुम्बईमा धेरैले खुशी भएर सम्मान जनाएको तर यता गोर्खा समाजले भने अहिलेसम्म यत्रो अन्तरराष्ट्रिय स्तरमा सफलता पाएर पनि कसैले सम्मान नदिएकोमा दु:ख पनि व्यक्त गरे। भविष्यमा स्थानीय गोर्खे समाजले अवश्य पनि मूल्यांकन गर्ने आशा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार/हनोक
