गान्तोक, 18 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका उपाध्यक्ष दिनेशचन्द्र नेपालले सिक्किममा पनि भाजपाले सरकार गठन गर्ने प्रबल सम्भावना रहेको बताएका छन्। उनले हालैमा तीन राज्यमा भएको चुनाउमा भाजपाको जितको सिक्किममा सकारात्मक प्रभाव परेको बताएका छन्। प्रदेश भाजपा उपाध्यक्ष नेपालले ‘हिन्दुस्थान समाचार’ सॅंग कुराकानी गर्दै उक्त कुरा भनेका हुन्।
राज्य शिक्षा विभागका पूर्व सचिव नेपालले सिक्किममा भाजपाप्रति जन समर्थन बढ्ने क्रम जारी रहेको बताए। भाजपाका विधायकहरूले आफ्नो निर्वाचन क्षेत्रहरूमा केन्द्र सरकारका योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको र क्षेत्रका जनतालाई लाभ पुऱ्याउने काम गरिरहेको उनले दाबी गरेका छन्। उनले हालैमा देशका तीन राज्यमा भाजपाले सरकार गठन गरेपछि यसको सिक्किममा पनि सकारात्मक प्रभाव परेको र सिक्किममा पनि भाजपाले सरकार गठन गर्ने सम्भावना बढ़ेर गएको बताए।
एक प्रश्नको जवाफमा उपाध्यक्ष नेपालले आउॅंदो चुनाउमा भाजपा विकासको मूल मुद्दा लिएर चुनावी मैदानमा जाने जानकारी गराए। वर्तमानमा भाजपाले 32 वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने सोच बनाएको भए तापनि चुनाउअघि सिद्धान्त मिल्ने पार्टीसॅंग गठबन्धन हुन सक्ने उनले बताए। राज्यमा एसकेएम पार्टी र भाजपाको गठबन्धनबारे बोल्दै उनले एसकेएम र भाजपाबिच स्वस्थ गठबन्धन नरहेको कुरा स्वीकार गरे भने भाजपाले एसकेएम सरकारलाई बाहिरबाट समर्थन गरिरहेको छ बताए।
उनले सिक्किममा राष्ट्रिय पार्टीको सरकार हुनु किन आवश्यक छ भन्ने विषयमाथि बोल्दै क्षेत्रीय पार्टीको सरकारमा भ्रष्टाचार धेरै हुने गरेको बताए। उनले केन्द्रिय पार्टीको सरकारमा एक व्यक्ति लामो समयसम्म मुख्यमन्त्री बन्न सक्दैनन्, जस कारण भ्रष्टाचार कम र विकास धेरै हुने गर्छ भनी बताए। उनले सिक्किममा पनि भाजपाको सरकार गठन हुनु आवश्यक रहेको बताए।
एक अन्य प्रश्नको जवाफमा उपाध्यक्ष नेपालले छुटेका 12 समुदायको जनजाति मान्यता मामिला आउॅंदो चुनाउ अघि नै हुन सक्ने सम्भावना रहेको बताए। यसका लागि प्रदेश भाजपाले आफ्नो तर्फबाट हर सम्भव प्रयास गरिरहेको उनले जानकारी गराए। यस अतिरिक्त, लिम्बू तामाङको सीट आरक्षण र आईएलपी मुद्दामाथि पनि प्रदेश भाजपा गम्भीर बनेर काम गरिरहेको उनले बताए।
हिन्दुस्थान समाचार/बिशाल
