— शौचालयको अभावमा पर्यटकहरू असुविधामा
खरसाङ, 01 दिसम्बर (हि.स.)। खरसाङको गिद्ध पहाड़स्थित गिद्धे भ्यु पोइन्ट अहिले पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बिन्दु बनेको छ। खरसाङ बजारदेखि लगभग 3-4 किलोमिटर टाड़ोमा रहेको गिद्धे भ्यु पोइन्टमा यो समय टाड़ा नजिकका पर्यटकहरू दैनिक रूपमा धेरै मात्रामा आउने गरेका छन्। पहाड़ घुम्न आउने पर्यटकहरू खरसाङका विभिन्न पर्यटकीय स्थलहरूमध्ये गिद्धे भ्यु पोइन्टमा प्रथममा नै आउने गरेका छन्। यहाँ घुमेर मात्रै अन्य स्थानहरूतिर जाने गर्छन्।
अहिलेको समय गिद्धे भ्यु पोइन्टमा दैनिक 3 हजारदेखि 35 सय पर्यटकहरू घुम्न आउने गरेको जानकारी प्राप्त भएको छ। गिद्धे भ्यु पोइन्ट पर्यटकहरू दैनिक रूपमा प्रशस्त रूपमा घुम्न आउने कारणहरूमा यहाँबाट 360 डिग्री भ्यु देख्न सकिने, पहाड़ र मधेशको संगम स्थलको रूपमा यो भ्यु पोइन्ट रहेको छ। यहाँबाट पर्यटकहरूले पहाड़को पहाड़ श्रंखलाहरूसितै मधेशको मनोरम दृश्यहरू अनि टिस्टा, महानन्दा, बालासन, मेची नदीका दृश्यहरू पनि देख्न सक्छन्।
यसका साथै खरसाङ, मिरिक, नेपालको पर्वत श्रृंखलाहरू, घैयाबारी, महानदी, सिविटार, रोहिणी, सिटोङका डाँडाहरू र मनोरम प्राकृतिक दृश्यहरू देख्न सक्छन्। यसको अतिरिक्त भ्यु पोइन्ट नजिकै नेताजी सुवासचन्द्र बोसको म्युजियम रहेकाले पर्यटकहरू गएर नेताजीसित सम्बन्धित विभिन्न विषयहरूमा जानकारी लिन सक्छन्। गिद्धे भ्यु पोइन्टको मुनितिर रहेको सुन्दर चियाबारी र ढुङ्गाहरू, थुम्काहरूले पर्यटकहरूलाई मोहित बनाउने गर्छ।
सन् 2016 मा नै लगभग 1 करोड़ 92 लाखभन्दा धेरै लागत खर्चमा यो गिद्धे भ्यु पोइन्टको सुन्दरीकरणको कार्य गरिएको थियो। अहिले भ्यु पोइन्टमा बिहानदेखि पर्यटकहरू आउने गरेका छन्। यो भ्यु पोइन्ट प्रसिद्ध बन्दै गएको भए तापनि यहॉं शौचालयको अभाव ठूलो समस्या बन्न पुगेको छ। शौचालय नभएकाले पर्यटकहरूलाई धेरै असुविधा भइरहेको जानमा आएको छ। यस दिशा स्थानीय प्रशासनले कार्य गरे अझ पर्यटकहरूलाई सुविधा हुने देखिएको छ।
साथै भ्यु पोइन्ट मुनितिर अहिले बन्द अवस्थामा रहेको निर्माणाधीन रोपवे परियोजनालाई पूरा गर्न सकिएको खण्डमा यहाँ अझ पर्यटकहरूको घुइँचो लाग्ने स्थानीयहरू दोकानदारहरूले बताएका छन्। कोलकोताबाट घुम्न आएका अरूणिमा सेन गुप्ता र एके शाहले यो भ्यु पोइन्टबाट 360 डिग्रीको भ्यु देख्ने र यहाँ शान्ति महसुस हुने भएकोले यो ठाउँ एकदमै सुन्दर लागेको बताएका छन्।
उनीहरूले यहाँको माहोल एकदमै राम्रो शान्तिपूर्ण रहेको साथै मानिसहरू पनि धेरै राम्रो रहेको अनुभव साझा गरे। उनीहरू आज यहाँ घुम्न आएको र यहाँबाट सिटोङ जाने बताए।
भ्यु पोइन्ट परिसरमा दोकान थापेर बसेका दोकानेहरूले यहाँ दैनिक 3 हजारदेखि 35 सय पर्यटकहरू आउने गरेको बताए। पर्यटकहरूको राम्रो संख्यामा आगमन हुॅंदा दोकान पनि राम्रो चल्ने गरेको बताएका छन्। पर्यटकहरूको घुॅंइचो लाग्दा दैनिक 15 सयदेखि 2 हजारसम्म र कोही—कोही बेला 3 हजारसम्म कमाई हुने गरेको बताएका छन्। दोकानेहरूले यहाँ शौचालयको अभावका कारण भइरहेको समस्याबारे पनि सम्बन्धित निकायको ध्यान आकर्षित गराएका छन्।
हिन्दुस्थान समाचार/हनोक
